- असार २०, २०८२
- No Comment
- 40
सुर्खेत होराइजन एकेडेमीले विद्यार्थीलाई खेतमा धान राेप्न सिकाउँदै

वीरेन्द्रनगर । वीरेन्द्रनगरस्थित सुर्खेत होराइजन एकेडेमीले आफ्ना विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै व्यवहारिक शिक्षा दिने उद्देश्यले एक विशेष रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले शुक्रबार कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरूलाई खेतमै लगेर नेपाली कृषि संस्कृति, श्रमको सम्मान र खेतीपातीको प्रत्यक्ष अनुभव दिलाएको हो।
विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रम उत्साहका साथ खेतमा पसेर धान रोपेका थिए। उनीहरूले हिलोमा खेल्दै, परम्परागत रोपाइँ गीत गाउँदै नेपाली कृषि परम्पराको अनुभव सँगालेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्राचार्य घनश्याम खड्काले आजका विद्यार्थीलाई किताबी ज्ञानले मात्र पूर्ण नबनाउने भएकाले उनीहरूलाई श्रमको मूल्य र कृषकको जीवन बुझाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। “हामी बच्चालाई असल मान्छे बनाउने कोशिसमा छौं। खेतमा पसिना बगाउने कृषकप्रतिको सम्मान बाल्यकालमै विकास भएमा उनीहरूमा मानवीयता र जिम्मेवारी बोध बढ्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूले पहिलोपटक खेतमा काम गरेको अनुभवले आफूहरूमा किसानप्रतिको सम्मान बढेको र अन्न उत्पादनमा हुने मिहिनेतबारे बुझेको प्रतिक्रिया दिए।
स्थानीय कृषकहरूले विद्यार्थीहरूलाई रोपाइँ गर्ने तरिका सिकाएर परम्परागत ज्ञान र सीप हस्तान्तरण गरेका थिए। शिक्षकहरू पनि विद्यार्थीसँगै हिलोमा रमाउँदा शिक्षक-विद्यार्थी सम्बन्ध अझ प्रगाढ बनेको देखिन्थ्यो। विद्यालयका समाजशास्त्र शिक्षक भरत आउजीले यस्ता क्रियाकलापले विद्यार्थीमा सामाजिक चेतना र संस्कारको विकास गर्ने बताउनुभयो।
विद्यालयले भविष्यमा यस्ता व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिँदै अर्गानिक खेती, माटो परीक्षण र खाद्य सुरक्षा जस्ता विषयमा समेत विद्यार्थीलाई संलग्न गराउने योजना बनाएको छ। शिक्षालाई कक्षाकोठाबाट बाहिर ल्याएर जीवनसँग जोड्ने यस्तो अभ्यास अन्य शैक्षिक संस्थाहरूका लागि पनि प्रेरणादायी बन्न सक्ने विश्वास लिइएको छ।
नेपालमा असार महिनाको १५ गतेलाई ‘रोपाइँ दिवस’ को रूपमा मनाउने परम्परा रहेको छ।