- बैशाख २१, २०८२
- No Comment
- 132
छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा नारायणी माविका सहायक प्रअ पक्राउ

चितवन । नारायणी नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटा आफ्नै विद्यालयकी १५ वर्षीया छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। पीडित छात्राका अभिभावकबाट परेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई वैशाख १८ गते पक्राउ गरेको हो।
प्रहरीका अनुसार सापकोटाले छात्रासँग रक्सी मागेर खाएको, दुर्व्यवहार गरेको तथा सामाजिक सञ्जालमार्फत अश्लील सन्देश पठाएको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले घटनासम्बन्धी उजुरीका आधारमा अनुसन्धान भइरहेको जानकारी दिए।
मुद्दा दर्ता गरेर अनुसन्धान सुरु भएको छ,” डीएसपी खनालले भने। शुक्रबार सापकोटाको म्याद थप गरी अनुसन्धानलाई थप अगाडि बढाइएको छ।
विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीले पनि सापकोटाको पक्राउ पुष्टि गर्दै भने, “विद्यार्थी अभिभावकको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो। अनुसन्धानपछि यथार्थ खुल्नेछ।”
प्रहरी अनुसन्धानपछि घटनाको पूर्ण विवरण सार्वजनिक गरिने जनाइएको छ।



