- मंसिर ३, २०८१
- No Comment
- 36
कर्णालीमा अझै स्ट्रेचरमै बिरामी बोक्नुपर्ने बाध्यता
दिलिप कंडेल। कर्णाली प्रदेशको राजधानी सुर्खेतका बिरामीहरू स्वास्थ्य संस्थामा उपचारका लागि जान एम्बुलेन्सभन्दा स्ट्रेचरमा चढ्नुपर्ने बाध्यता रहेको छ । दुर्गम वस्तीका गर्भवती, सुत्केरी तथा अन्य बिरामीलाई एम्बुलेन्ससम्म पु-याउनका लागि स्ट्रेचरमा बोकेर लैजानु पर्छ ।
सुर्खेतका दुर्गम मानिएका चौकुने, वराहताल, सिम्ता, चिङ्गाड गाउँपालिका तथा लेकबेँसी, पञ्चपुरी नगरपालिकाका विभिन्न वडाका बिरामी उपचार सेवाका लागि स्वास्थ्य संस्था जान एम्बुलेन्सभन्दा पहिला स्ट्रेचर चढेर आउनुपर्ने बाध्यता छ ।
सडक यातायात पुग्न नसकेका ठाउँका बिरामी एम्बुलेन्ससम्म पुग्न स्ट्रेचर प्रयोग गर्नु परिरहेको छ । दुर्गम भेगमा सडक नपुगेको र सडक पुगे पनि यातायातका साधन चल्न सक्ने गरी बाटोघाटोको अवस्था नहुँदा लामो दुरीसम्म स्ट्रेचरमा बोक्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । चौकुने गाउँपालिकाको गाउँबस्ती निकै दुर्गममा छन् ।
यी बस्तीमा पुग्न यातायातको सुबिधा नभएकाले बिरामीलाई स्ट्रेचरमा बोक्नुपर्ने बाध्यता रहेको छ । प्रायः गाउँबस्तीका गर्भवती घरमै सुत्केरी हुने गरेका छन् । पालिकाले एम्बुलेन्स पनि सञ्चालन गरेको छ तर त्यहाँ चढ्न पनि पहिले स्ट्रेचरमा बोकर ल्याउनु पर्छ ।
पालिकाका हरेक वडामा एम्बुलेन्स जान सक्दैन । चौकुने गाउँपालिका गुटुका स्वास्थ्य चौकी प्रमुख गगन पाण्डेले भौगोलिक विकटताले सडक पुग्न नसक्दा एम्बुलेन्स जान नसक्ने भएकाले स्ट्रेचरमा बोकेर यातायात पुगेको ठाउँसम्म पु¥याउनुपर्ने अवस्था रहेको बताउनुभयो ।
दुर्गमको भौगोलिक अवस्था र बिरामी बोक्ने मानिस नहुँदा स्वास्थ्य केन्द्रसम्म आउन नसकेका गर्भवती महिला बाध्यतावश घरमै सुत्केरी भएको स्वास्थ्य चौकी प्रमुख पाण्डेले बताउनुभयो ।