- कार्तिक ३०, २०८१
- No Comment
- 17
प्रहरी चौकीमा मिलापत्र गरेको केही दिनमै कुटपिट गरी हत्या
कैलालीको गौरीगंगा नगरपालिका-११ का पत्रकार सुरेश भुलको हत्याअघि प्रहरी कार्यालयमा दुई पक्षीय छलफल भएको पाइएको छ । चौकीमा मिलापत्र गरेर फर्किएको केही दिनमै उनको कुटपिटपछि हत्या भएको खुलेको हो । यता प्रहरीले भने छलफल भए पनि उनीहरूबीचको मिलापत्रमा प्रहरीको कुनै उपस्थित नभएको दाबी गरको छ । छलफल भएको तर प्रहरीको उपस्थितिमा कुनै मिलापत्र नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कात्तिक २० मा गौरीगंगा-११ कान्तिपुर टोलकी बिस्ना भुलको हराएको बाख्रो पत्रकार भुलको घरमा बाँधिएको भेटिएको थियो । प्रहरीका अनुसार भुलले सुरुमा उक्त बाख्रो अन्तबाटै आफूले किनेर ल्याएको दाबी गरेका थिए ।
तर, उनका आफन्तले भने मेडिकल अगाडि बाख्रो बसेको देखेपछि त्यहीं नजिकै सुरेशले उक्त बाख्रो बाँधेको दाबी गरेका छन् । बाख्राधनी पक्षले भने चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि उनीहरूबीच प्रहरी चौकी मुसरियामा छलफल भएको थियो । चौकीमा भएको छलफलमा उक्त बाख्रो भुलले नै राख्ने र बाख्राधनी बिस्नालाई बाख्रो बराबरको रकम दिने सहमतिसमेत भएको खुलेको छ । तर सुरेशले रकम दिन ढिलो गरेको भन्दै आक्रोशित भएर उनीहरू २४ गते कुटपिट गरेको र कुटपिटबाट गम्भीर घाइते सुरेशको उपचारको क्रममा २६ गते मृत्यु भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । यो घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका एक जना अझै फरार छन् ।