- कार्तिक २५, २०८१
- No Comment
- 18
दुर्घटना बढेपछि कर्णालीमा सवारी चेकजाँचमा कडाइ
शुक्रवार दिउँसो सुर्खेत-दैलेखको सिमाना नजिक वीरेन्द्रनगर नगरपालिका-१४, रातानाङ्लामा कर्णाली प्रदेश ०२०० ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो ३० जना घाइते अवस्थामा छन् । १८ सिट क्षमताको उक्त गाडीमा ३४ जना सवार रहेको पाइएपछि प्रहरीको व्यापक आलोचना भयो । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको उक्त सडकमा ठाउँ-ठाउँमा ७ वटा चेकिङ पोस्टहरू छन् । बुधबारमात्रै सुर्खेत-दैलेख सडक अन्तर्गत वीरेन्द्रनगरको कपासेमा कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी दुर्घटना भयो । दुर्घटनामा पिकनिक खान गएका २८ जना घाइते भए । यी केही उदाहरण मात्र हुन्, दसैँ-तिहारको अवधि अर्थात् असोज १७ देखी कार्तिक २३ गतेसम्म कर्णालीमा १०५ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ भने २४२ जना घाइते भएका छन् ।
प्रदेश प्रहरीको तथ्याङ्कलाई हेर्दा दैनिक सरदर २-३ वटा सवारी साधन दुर्घटना हुने गरेका छन् । दुर्घटना भएका सवारी साधनमध्ये धेरैजसो फोर्स गाडी, जिपहरू छन् । कुनै बेला बसको साम्राज्य थियो, बसहरू बिस्तारै विस्थापित हुँदै गएका छन् । यद्यपि छिटो यात्राका नाममा सवारी चालकहरूले प्रहरीसँगको मिलेमतोमा सिट क्षमता भन्दा दोब्बर यात्रु बोक्ने र दुर्घटना बढी हुने गरेको देखिन्छ । ‘यात्रा गर्दा ठाउँ-ठाउँमा ट्राफिकले पैसा माग्छ, पैसा नदिएको गाडीलाई निकै केरकार गर्ने, दुख दिने गर्छ, चालकहरू पनि बाध्य भएर हप्ता र महिनामा पैसा दिँदा रहेछन्,’ उपचारका लागि दैलेखबाट वीरेन्द्रनगर आएका एकजनाले व्याक्तीले भने, ‘केही दिनअघि हामी आउने एसएमएल गाडीमा त्यस्तै भयो ।’
दैनिक दुर्घटना भएर नागरिकको अकालमा मृत्यु भएसँगै शनिवार राजधानी वीरेन्द्रनगरमा पिडीत पक्षहरुले आन्दोलन गरेका थिए । शुक्रवार फोर्स गाडी दुर्घटनामा घाइते तथा मृतकका आफन्तहरूले उक्त घटना ‘दुर्घटना हैन, हत्या हो’ भन्दै आक्रोस व्यक्त गरेका थिए । क्षमताभन्दा दोब्बरले यात्रु कोच्दा पनि प्रहरीले बेवास्ता गर्ने, प्रहरीलाई हप्ता र महिनावारी पैसा दिएपछि चेकजाँच नै नगर्दा दुर्घटना बढेको आन्दोलनकारीहरुको भनाइ थियो ।
सामाजिक सञ्जालमा पनि प्रहरीमाथि व्यापक प्रश्न उठेको छ । शुक्रबारको घटनापछि प्रहरीमाथि व्यापक प्रश्न उठेपछि चेकजाँचमा कडाइ गर्न थालिएको छ । शनिवार कर्णाली राजमार्ग, सुर्खेत-दैलेख सडक, छिन्चु-जाजरकोट सडकमा चल्ने सवारी साधनहरूमा ट्राफिक प्रहरीले विशेष निगरानी राख्दै चेकजाँचमा कडाइ गर्न थालेको हो ।प्रदेश ट्राफिक कार्यालयका अनुसार शनिवार मात्र क्षमता भन्दा बढी सिट जडान गरिएका ३२ वटा सवारी साधनका ७३ वटा अतिरिक्त सिटहरू हटाइएको छ ।
त्यस्तो गर्ने सवारी साधनलाई नियमानुसार कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । यस्तै शनिवार बेलुका सुर्खेतबाट काठमाडौँ जाने रात्रिकालीन बसमा क्षमताभन्दा बढी यात्रु राखेपछि १५ वटा बस प्रहरीले वीरेन्द्रनगरबाट बाहिरिने सुब्बाकुना नाकामा रोक्यो । त्यहाँ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्मा, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक वकिल सुनारको टोली नै त्यहाँ खटिएको थियो ।