- जेष्ठ ८, २०८३
- No Comment
- 9
चौकुने गाउँपालिकामा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न

सुर्खेत। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालित उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (R-HVAP) प्रदेश स्तरीय कार्यक्रम व्यवस्थापन कार्यालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा चौकुने गाउँपालिकाको सभाहलमा PAP तर्जुमा सम्बन्धी सरोकारवालासँग समन्वय बैठक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपाने रहनु भएको थियो भने विशेष अतिथिमा चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला र प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर बि.क. रहनु भएको थियो ।
कार्यक्रममा वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्षहरू, कृषि शाखा प्रमुख लोकमणि जोशी, पशुपक्षी विकास शाखा प्रमुख डा. रुपेश कुमार यादव, R-HVAP प्राविधिक सहायक विष्णु वि.सी., R-HVAP प्रशासकीय अधिकृत शंकर भट्टराई लगायतको उपस्थिति रहेको थियो। बैठकमा कार्यक्रमको उद्देश्य तथा PAP तर्जुमा प्रक्रियाबारे R-HVAP की बाली संरक्षण अधिकृत श्रृजा पोखरेल र प्राविधिक सहायक विष्णु वि.सी.ले सहजीकरण गर्नु भएको थियो । उहाँहरूले उच्च मूल्यका कृषि वस्तुको उत्पादन वृद्धि, कृषकको आयआर्जनमा सुधार, कृषि क्षेत्रको व्यवसायीकरण तथा स्थानीय तहसँग समन्वय गर्दै प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भएको थियो ।
कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि स्थानीय आवश्यकता अनुसार योजना तर्जुमा गर्नुपर्नेमा जोड दिदै चौकुने गाउँपालिकाभित्र रहेका कृषक, समूह तथा सहकारीलाई कार्यक्रमसँग जोडेर उत्पादनमुखी गतिविधि सञ्चालन गर्न आवश्यक सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। प्रमुख अतिथि खडक बिवस वासपानेले चौकुने गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताउँदै स्थानीय सरकार पूर्ण रूपमा सहयोग गर्न तयार रहेको धारणा व्यक्त गर्नु भएको थियो ।



