- जेष्ठ ८, २०८३
- No Comment
- 3
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार अनुमति प्रदान गरेसँगै विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायमा खुसीको वातावरण छाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण हमाल चालिसे का लागि यो उपलब्धि केवल प्रशासनिक स्वीकृति मात्र नभई लामो समयदेखि देख्दै आएको शैक्षिक सपना साकार भएको क्षण बनेको छ। विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित अध्यक्ष हमाल निरन्तर सक्रिय रहँदै आएका थिए।
उनकै नेतृत्वमा विद्यालयमा शैक्षिक वातावरण सुधार, अनुशासन व्यवस्थापन, विद्यार्थीमैत्री गतिविधि विस्तार, भौतिक पूर्वाधार सुदृढीकरण तथा गुणस्तरीय शिक्षामा विशेष जोड दिइएको स्थानीयले बताएका छन्। विद्यालयको समग्र स्तर उकास्न शिक्षक, अभिभावक र समुदायबीच सहकार्य बढाउने कार्यमा पनि अध्यक्ष हमालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ।
विद्यालयद्वारा जारी धन्यवाद ज्ञापन सन्देशमा यो सफलता सामूहिक मेहनत, विश्वास, एकता र निरन्तर सहयोगको परिणाम भएको जनाइएको छ। साथै विद्यालयको विकासमा योगदान पुर्याउने शिक्षक–शिक्षिका, कर्मचारी, अभिभावक, विद्यार्थी, पूर्व विद्यालय व्यवस्थापन समिति पदाधिकारी, समाजसेवी, बुद्धिजीवी तथा वडा नं. ३ का स्थानीयवासीप्रति आभार व्यक्त गरिएको छ।
अध्यक्ष बालकृष्ण हमाल चालिसेले आगामी दिनमा विद्यालयलाई सुर्खेतकै उत्कृष्ट, गुणस्तरीय र विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कक्षा ११ सञ्चालनको अनुमति प्राप्त भएसँगै अब स्थानीय विद्यार्थीले आफ्नै क्षेत्रमा सहज रूपमा उच्च माध्यमिक तह अध्ययन गर्ने अवसर पाउने भएका छन्।



