
रुसका डानिल मेदभेदेभ दर्शकलाई बलले लागेपछि चीन ओपनबाट अयोग्य घोषित भएका छन्। नोभाक जोकोभिचविरुद्धको सेमिफाइनल खेलका क्रममा मेदभेदेभले रिसको झोंकमा हानेको बल अगाडिको पंक्तिमा बसेका एक दर्शकको अनुहारमा लागेको थियो।
जोकोभिचविरुद्ध मेदभेदेभ ७–५, ५–३ ले पछाडि थिए। जोकोभिचले १५-१५ को अवस्थामा कोर्टको पछाडि प्रहार गरेपछि बल कोर्टको पछाडिको भागमा ठोक्किएर मेदभेदेभतर्फ फर्किएको थियो। त्यसक्रममा मेदभेदेभले झोकमा ब्याकह्यान्डले बल हानेका थिए।
मेदभेदेभले हानेको बल कोर्टको पछाडिको स्ट्यान्डमा अगाडिको पंक्तिमा बसेका दर्शकलाई लागेको थियो। बल लागेपछि ती दर्शकले अनुहार समातेर झुकेका थिए। उनलाई कोर्टबाट बाहिर लैजाँदा पनि आँखामा हात राखिरहेका थिए।
घटनापछि मेदभेदेभले अम्पायर मोहम्मद लहयानी र एटीपीका अधिकारीसँग कुराकानी गरेका थिए। त्यसपछि उनी कोर्टमा फर्किएर जोकोभिचसँग हात मिलाएका थिए। खेलाडीलाई आचारसंहिता उल्लंघनमा ‘डिफल्ट’ गरिएपछि मेदभेदेभको खेल समाप्त भएको हो।
घटनापछि मेदभेदेभले दर्शकप्रति माफी माग्दै आफू उनीसँग प्रत्यक्ष सम्पर्क गर्न चाहेको बताएका छन्। उनले ती दर्शकको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै आफूले व्यक्तिगत रूपमा माफी माग्न पाए राम्रो हुने बताएका थिए।
जोकोभिचले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। सन् २०२० को यूएस ओपनमा यस्तै प्रकारको घटनाका कारण आफू पनि अयोग्य घोषित भएको स्मरण गर्दै जोकोभिचले मेदभेदेभले जानाजानी यस्तो नगरेको आफूलाई विश्वास रहेको बताए।
टेनिसमा खेलाडीले आचारसंहिता उल्लंघन गर्दा डिफल्ट हुन सक्छ। बलको दुरुपयोग, शारीरिक वा मौखिक दुर्व्यवहार तथा र्याकेटको दुरुपयोग त्यसअन्तर्गत पर्छन्। सामान्य अवस्थामा लगातार आचारसंहिता उल्लंघनका लागि चेतावनी र पेनाल्टीपछि अयोग्य घोषणा हुन सक्छ। तर गम्भीर उल्लंघनमा खेलाडीलाई तत्कालै खेलबाट हटाउन सकिने व्यवस्था छ।
अयोग्य घोषित भएपछि मेदभेदेभले बेइजिङमा हासिल गरेका खेल अंक र पुरस्कार रकम गुमाउनेछन्। ३० वर्षीय मेदभेदेभ यसअघि पनि कोर्टमा आक्रोशित व्यवहारका कारण चर्चामा आएका थिए।
गत वर्ष यूएस ओपनमा कोर्टमा फोटोग्राफर प्रवेश गरेपछि उनले आक्रोशपूर्ण व्यवहार गरेका थिए र त्यसका लागि करिब ३१ हजार ५०० पाउन्ड जरिवाना तिरेका थिए। यसै वर्ष मोन्टेकार्लो मास्टर्समा ६-०, ६-० ले पराजित भएपछि उनले र्याकेटसमेत तोडेका थिए र त्यस घटनामा पनि जरिवाना भएको थियो।
मेदभेदेभले यसअघि आफ्नो कोर्ट व्यवहार सुधार गर्ने प्रयास गरिरहेको बताएका थिए। उनका अनुसार जित्ने चाहनाले आफूमा धेरै एड्रेनालिन र ऊर्जा आउने र कहिलेकाहीँ त्यो सकारात्मक तथा कहिलेकाहीँ नकारात्मक रूपमा बाहिरिने गर्छ।



