
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ।
प्रहरी अधिकारीहरूका अनुसार इमरान खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि सदस्यहरूलाई हिरासतमा लिइएको हो। खानका समर्थकहरूले देशको आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरिरहेका छन्।
पीटीआईले प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई समेत पक्राउ गरी सुरक्षात्मक हिरासतमा राखिएको जनाएको छ। सङ्घीय सरकारले प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै आपत्कालीन शासन आवश्यक रहेको दाबी गरेको छ।
तर पीटीआईले आपत्कालीन शासनको विरोध गर्दै यसलाई अलोकतान्त्रिक कदम र सत्ता कब्जाको प्रयास भनेको छ।
पूर्वक्रिकेट खेलाडीसमेत रहेका इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन्। उनीमाथि भ्रष्टाचार र हिंसा भड्काएको लगायतका आरोप लागेका छन्। खान र उनको कानुनी टोलीले भने ती आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताउँदै आएका छन्।



