
सुर्खेत । सुर्खेतका विभिन्न जंगलबाट प्रहरीले १८ नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाका चौकुने र बराहाताल गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले बन्दुक फेला पारेको हो।
इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा मातहतको इलाका प्रहरी कार्यालय गुटुसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सान्नेघारीस्थित जंगलबाट पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ।
त्यसैगरी, अस्थायी प्रहरी चौकी लगामबाट खटिएको टोलीले चौकुने गाउँपालिका–१ धामिसेनस्थित जंगलबाट १२ नाल र प्रहरी चौकी रानिघाटको टोलीले बराहाताल गाउँपालिका–१ ज्यामिरेस्थित जंगलबाट एक नाल भरुवा बन्दुक बरामद गरेको हो।
प्रहरीका अनुसार तीनवटै स्थानबाट बरामद गरिएका बन्दुक कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिइएको छ। ती हतियार कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



