
सुर्खेत । सुर्खेतका विभिन्न बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा अखाद्य तथा म्याद गुज्रिएका खाद्य सामग्री र औषधि बरामद गरी नष्ट गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्थानीय तह र प्रहरीको संयुक्त टोलीले लेकबेशी नगरपालिका र गुर्भाकोट नगरपालिकाका बजारमा अनुगमन गरेको हो।
लेकबेशी नगरपालिका–४ र ५ अन्तर्गत नेटा क्षेत्रका खाद्य पसल, होटल तथा एग्रोभेटमा गरिएको अनुगमनका क्रममा अखाद्य रङ मिसाइएका दाल, म्याद गुज्रिएका चाउचाउ, खाद्य पदार्थ तथा प्रयोग अयोग्य औषधि र अन्य सामग्री फेला परेका थिए। अनुगमन टोलीले ती सामग्री जफत गरी नष्ट गरेको जनाएको छ।
त्यसैगरी, गुर्भाकोटको बोटेचौरलगायत क्षेत्रमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा प्रयोग गर्न अयोग्य खाद्य सामग्रीसमेत बरामद गरी नष्ट गरिएको छ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन बजार अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



