
सुर्खेत, साउन ७ ।
कर्णाली प्रदेशका उच्च अदालत सुर्खेतसहित मातहतका पाँच जिल्ला अदालतले पछिल्ला तीन आर्थिक वर्षमा १८ हजार ४९२ मुद्दाको न्यायिक निरुपण गरेका छन्। उच्च अदालत सुर्खेत तथा सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट र दैलेख जिल्ला अदालतले उक्त अवधिमा मुद्दा फर्छ्योट गरेका हुन्।
तीन वर्षमा सुर्खेत जिल्ला अदालतले सबैभन्दा धेरै ८ हजार ७४४ मुद्दा फर्छ्योट गरेको छ भने उच्च अदालत सुर्खेतले २ हजार ६६३, सल्यानले २ हजार २६४, रुकुम पश्चिमले २ हजार ८०, दैलेखले १ हजार ५३९ र जाजरकोटले १ हजार १७२ मुद्दा किनारा लगाएका छन्।
आर्थिक वर्ष २०८२/०८३ मा भने प्रतिशतका आधारमा जिल्ला अदालत जाजरकोट सबैभन्दा प्रभावकारी देखिएको छ। जाजरकोटले ८९.४ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। त्यसपछि उच्च अदालत सुर्खेत (८२.५%), दैलेख (७९.८%), सल्यान (७३.४%) र सुर्खेत जिल्ला अदालत (६३.२%) रहेका छन्। जनशक्ति अभावका कारण सुर्खेत जिल्ला अदालतको फर्छ्योट दर अपेक्षाकृत कम रहेको अदालतले जनाएको छ।
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीका अनुसार गत आर्थिक वर्षमा मेलमिलापका लागि पठाइएका ६९३ मुद्दामध्ये १२६ वटा मेलमिलापबाटै टुंग्याइएको छ। सोही अवधिमा अदालतमा सबैभन्दा धेरै जबर्जस्ती करणीका १६९ र लागुऔषधसम्बन्धी १२० मुद्दा दर्ता भएका थिए।
यसैबीच, उच्च अदालत सुर्खेतले न्यायिक अभिलेखलाई डिजिटल बनाउने अभियानलाई पनि तीव्रता दिएको छ। हालसम्म १२ हजार ४६५ मुद्दाका मिसिल डिजिटल अभिलेखीकरण गरिएको छ भने १० हजार ६९० मुद्दाको विवरण कम्प्युटर प्रणालीमा प्रविष्ट गरिएको अदालतले जनाएको छ।



