
सुर्खेत, साउन ८ — नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गरेको छ। भारतबाट आवश्यक परिमाणमा ग्यास नियमित रूपमा आयात भइरहेको निगमले जनाएको छ।
निगमका प्रमुख दिपक कुमार घिमिरेका अनुसार अभाव हुने हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न थालेपछि वितरणमा केही असर देखिएको हो।
उपभोक्ताको सहजताका लागि ‘एक व्यक्ति, एक सिलिन्डर’ व्यवस्था लागू गरिएको छ। अधिकृत बिक्रेतामार्फत विभिन्न कम्पनीका २ हजार ९२२ वटा १४.२ केजीका एलपी ग्यास सिलिन्डर प्रतिगोटा दुई हजार ६० रुपैयाँमा बिक्री–वितरण गरिनेछ। साथै, नेपाल ग्यासका ३२० वटा सिलिन्डर वीरेन्द्रनगर औद्योगिक क्षेत्रस्थित न्यू जानकी ट्रेड एण्ड सप्लायर्समार्फत वितरण गरिने निगमले जनाएको छ।
निगमले उपभोक्तालाई अधिकृत बिक्रेताबाट मात्रै ग्यास खरिद गर्न, अनावश्यक सञ्चय नगर्न तथा तोकिएको मूल्यभन्दा बढी रकम असुलेको वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।



