
काठमाडौं — बलिउड अभिनेत्री नोरा फतेहीलाई भारतबाट देशनिकाला गर्न माग उठेको विषयले अहिले कानुनी र राजनीतिक रूप लिएको छ। कन्नड चलचित्र केडी: द डेभिलको एक गीतलाई लिएर सुरु भएको विवादले यस्तो अवस्था सिर्जना गरेको हो।
उक्त चलचित्रमा सञ्जय दत्तसमेतको अभिनय रहेको छ। विवादित गीत ‘सरके चुनर तेरी सरके’ को हिन्दी संस्करण सार्वजनिक भएसँगै यसको शब्द र दृश्यलाई लिएर भारतभर विरोध चर्किएको हो।
आलोचकहरूले गीतका शब्दहरू भद्दा, द्विअर्थी तथा महिलाको गरिमामाथि प्रहार गर्ने खालका रहेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि भारतको सूचना तथा प्रसारण मन्त्रालयले विषयलाई गम्भीर रूपमा लिँदै केन्द्रीय फिल्म प्रमाणन बोर्डलाई निर्देशन दिएको थियो। त्यसपछि गीतको हिन्दी संस्करण युट्युबसहित डिजिटल प्लेटफर्मबाट हटाइएको छ।
यसैबीच १० जना वकिलहरूको समूहले भारतको गृह मन्त्रालयमा निवेदन दिँदै नोरा फतेहीको श्रम स्वीकृति रद्द गर्न तथा उनलाई देशनिकाला गर्न माग गरेका छन्। विदेशी कलाकारले भारतीय संस्कृति र शालीनतामा असर पुर्याउन नहुने उनीहरूको तर्क छ।
घटनामा राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो देखाउँदै सम्बन्धित पक्षसँग स्पष्टीकरण मागेका छन्।
विवादबारे प्रतिक्रिया दिँदै नोरा फतेहीले उक्त गीत तीन वर्षअघि कन्नड भाषामा छायांकन गरिएको र त्यसबेला यसको अर्थ सामान्य बताइएको दाबी गरेकी छन्। हिन्दी संस्करण तयार गर्दा आफूलाई जानकारी नदिइएको उनको भनाइ छ। साथै, गीतको प्रचारमा आफ्नो र सञ्जय दत्तको एआई–निर्मित तस्बिर प्रयोग गरिएकोमा उनले आपत्ति जनाएकी छन्।
गीतका लेखक रकीब आलमले विवादित शब्द आफूले नलेखेको बताएका छन् भने निर्देशक प्रेमले सार्वजनिक रूपमा माफी माग्दै गीत सच्याउने प्रतिबद्धता जनाएका छन्।
आगामी अप्रिल ३०, २०२६ मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘केडी: द डेभिल’ को व्यापारमा यस विवादले कस्तो प्रभाव पार्ने हो भन्नेबारे चासो बढेको छ। साथै, यस घटनाले भारतीय चलचित्र उद्योगमा सेन्सरसिप र सिर्जनात्मक नियन्त्रणबारे नयाँ बहस सुरु गरेको छ।



