
गोरखाको मनास्लु क्षेत्रमा लगातार वर्षा र भारी हिमपात भएपछि केही आरोही आरोहण नगरी फर्किन थालेका छन्। दुई सातासम्म मौसममा सुधार नआएपछि आरोहीहरू बीच बाटोबाटै फर्किन थालेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए।
मनास्लु क्षेत्रमा करिब पाँच फिटसम्म हिमपात भएको छ भने बेस क्याम्पमा तीन फिट र क्याम्प–१, २ र ३ क्षेत्रमा सातदेखि आठ फिटसम्म हिउँ जमेको स्थानीय व्यवसायीले बताएका छन्।
मौसम प्रतिकूल भएपछि हालसम्म करिब १० प्रतिशत आरोही फर्किएको बताइएको छ। यस याममा आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि करिब पाँच सय जनाले अनुमति लिएका छन्।



