
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि आइतबार मात्रै सुनको भाउ २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेर रेकर्ड बनेको थियो । त्यसअगाडि असोज ३१ गते सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन त्यसबेला उच्च मानिएको थियो ।
यस्तै, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढ्दै ३ हजार ८७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको थियो ।



