- जेष्ठ २१, २०८३
- No Comment
- 16
जाजरकोटको कुदुमा जडान गरिएका ८ थान सीसीटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

जाजरकोट, २१ जेठ । जाजरकोटको भेरी नगरपालिका–१३ कुदु क्षेत्रमा नवजडित ८ थान सीसीटीभी क्यामेरा एक औपचारिक कार्यक्रमका बीच प्रहरीलाई हस्तान्तरण गरिएको छ।
“सुरक्षित नागरिक, सुरक्षित समाज” भन्ने मूल नारासहित भेरी नगरपालिका वडा नं. १३ को आर्थिक तथा प्राविधिक सहयोग र प्रहरी चौकी कुदुको समन्वयमा उक्त सीसीटीभी क्यामेरा जडान गरिएको हो।
आज बिहान आयोजित कार्यक्रममा भेरी नगरपालिका–१३ का वडा अध्यक्ष यज्ञ बटालाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्धि सागर पुरीको प्रमुख आतिथ्यतामा सीसीटीभी क्यामेराको शुभारम्भ तथा हस्तान्तरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डीएसपी पुरीले आधुनिक प्रविधिको प्रयोगले अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। स्थानीय तह र प्रहरीबीचको सहकार्यले नागरिकमा सुरक्षाको अनुभूति थप मजबुत बनाउने उहाँको भनाइ थियो।
वडा अध्यक्ष बटालाले सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन सीसीटीभी जडान गरिएको जानकारी दिँदै यसको संरक्षण र प्रभावकारी प्रयोगमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, पत्रकार, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। नवजडित सीसीटीभी क्यामेराले कुदु क्षेत्रमा हुने आपराधिक गतिविधिको निगरानी, अपराध नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीले सीसीटीभी प्रणाली सञ्चालनमा आएपछि क्षेत्रको सुरक्षा अवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।



