- असार १५, २०८३
- No Comment
- 1
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट, असार २९ — कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै नौवटै स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भइसकेपछि आइतबार औपचारिक रूपमा जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
जिल्लाभर जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि यो घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सदस्यसचिव तथा स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले जानकारी दिए।
उनका अनुसार बालबालिकाका लागि निर्धारित नौ प्रकारका तथा गर्भवती महिला र किशोरीका लागि एक–एक गरी कुल ११ प्रकारका खोप सेवाको पहुँच सुनिश्चित गरिएको छ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता : पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कालीकोटलाई कर्णाली प्रदेशको तेस्रो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।
डा. सुनारले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय तहको सक्रिय सहभागिता र योगदानले यो उपलब्धि हासिल भएको बताए।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका खोप फोकल पर्सन कटकबहादुर महतका अनुसार जन्मेदेखि १५ महिनाभित्र सबै खोप पूरा गर्नुपर्ने व्यवस्था रहे पनि विभिन्न कारणले छुटेका १६ देखि ५९ महिनासम्मका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरी ‘खोज र खोप अभियान’ सञ्चालन गरेर सबै मात्रा पूरा गरिएपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको छ।
पूर्णखोप सुनिश्चित घोषणासँगै जिल्लामा बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने अभियान थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।



