- जेष्ठ २०, २०८३
- No Comment
- 2
अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पूरा, विविध कार्यक्रम गरी दिवस मनाइँदै

अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ। सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण हुनुभन्दा तीन वर्षअघि नै अन्नपूर्णको शिखर चुमिएको थियो। आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई ‘जेठो हिमाल’ समेत भनिन्छ।
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको यो हिमाल ८ हजार ९१ मिटर अग्लो छ। यस हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ।
नेपालको पर्यटन क्षेत्र र पर्वतारोहणको इतिहासमा यो दिनलाई विशेष मानिन्छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा आज विविध कार्यक्रम आयोजना गरिएको छ।
दिवसका अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकतर्फको आधार शिविरमा दौड प्रतियोगिता आयोजना गरेको छ। त्यस्तै, नयाँ पदमार्गको प्रवर्द्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा पनि अन्नपूर्ण आरोहण दिवस मनाइँदै छ।
पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म ५ सय ३६ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन्। यस वर्षको वसन्तयाममा हिमाल चढ्नका लागि ४ वटा समूहका २७ जनाले अनुमति लिएका छन्। अनुमति लिएकामध्ये कतिले सफल आरोहण गरे भन्ने विवरण भने अद्यावधिक भइरहेको विभागकी शाखा अधिकृत शर्मीला बञ्जाडेले जानकारी दिइन्।
आज आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ। प्रतियोगितामा २० जना धावक सहभागी छन्।
दौडमा प्रथम हुनेले १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ३५ हजार र सान्त्वना स्थान हासिल गर्ने तीन जनाले १०–१० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा यो प्रतियोगिता भएको हो। दौड सकिएपछि नारच्याङमा सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसहित सोमबारदेखि सुरु भएको दिवसको समापन गरिने वडाध्यक्ष लोकबहादुर फगामीले बताए।



