• जेष्ठ २०, २०८३
  • No Comment
  • 20

बाबुराम भट्टराईको टिप्पणी: काठमाडौँ र दिल्लीका आवाज प्रिय छैनन्

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यतिवेला काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका गड्याङगुडुङका आवाजहरू त्यति प्रिय नरहेको जिकिर गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र उनको ‘द हिन्दुस्तान टाइम्स’ मा प्रकाशित लेखलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। लामिछानेको उक्त लेखले नेपाल र भारत दुवै देशमा राम्रै तरङ्ग ल्याएको उल्लेख गर्दै भट्टराईले त्यसमा आफ्नो पनि सहमति रहेको जनाएका छन्।

नेपाल-भारत सम्बन्धको प्रकृतिको चर्चा गर्दै डा. भट्टराईले विकास साझेदारी र सभ्यता–संस्कृति (रोटी–बेटी) का कुरा गरून्जेल दुबैतिर सकारात्मक माहोल बन्ने बताएका छन्। उनले आफ्नो कार्यकालमा तत्कालीन पार्टीभित्रकै एकथरीको चर्को विरोधका बाबजुद ‘बिप्पा’ सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भयो भनेर दुवैतर्फ खुसी छाएको स्मरण समेत गरेका छन्। तर, यो कथाको बाहिर देखिने पाटो मात्रै भएको र यसको अर्को खुला नदेखिने गम्भीर पक्ष पनि रहेको उनको भनाइ छ।

उनका अनुसार बाहिर नदेखिए पनि भित्रभित्रै पुतपुताइरहने र सधैँ दुःख दिइरहने मूल विषय सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको हो। यस मामिलामा दुवैतर्फका जिम्मेवार मानिसहरू खुला रूपमा नबोले पनि ‘खाष्टोमुनि मुड्की बजाइरहने’ अवस्था छ। भारतीयहरूको दिलदिमागमा अङ्ग्रेजको पालादेखि नै ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ भन्ने सोच जमेर बसेको र सीमा विवाद त्यसैको अभिव्यक्ति भएको भट्टराईले दाबी गरेका छन्। अर्कोतिर, नेपालीहरूमा राष्ट्रिय सार्वभौमसत्ताको विषयलाई लिएर ‘सिक्किमीकरण’को खतराको त्रास गहिरोसँग गढेको छ। यही जरो कारणले गर्दा नेपाल-भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको ‘सिसिफस’को कथा जस्तै एउटै दुष्चक्रमा दोहोरिन अभिशप्त भइरहेको उनको तर्क छ।

यही जटिल गाँठो फुकाउनका लागि आफूले भारत र नेपालका जिम्मेवार व्यक्तिहरू एवं आम जनसमुदायको मनोविज्ञान बुझेर प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी) को अवधारणा अघि सारेको डा. भट्टराईले स्पष्ट पारेका छन्। तर, दुवै देशका विज्ञहरू संलग्न भई तयार पारिएको उक्त इपीजीको प्रतिवेदन अहिलेसम्म ‘मृत्युशैय्यामा छट्पटाइरहेको’ भन्दै उनले दुखेसो समेत पोखेका छन्। अन्त्यमा, उनले रास्वपा सभापति रवि लामिछानेको वर्तमान दिल्ली भ्रमण यो पुरानो दुष्चक्र तोड्न सफल रहोस् भन्ने कामना गरेका छन्।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती…

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *