• जेष्ठ १८, २०८३
  • No Comment
  • 4

पदम केसी मृत्यु प्रकरणमा नयाँ मोड : हत्या पुष्टि, तत्कालीन प्रहरी अधिकारीमाथि कारबाही सिफारिस

सोमबार, जेठ १८, काठमाडौं । अर्घाखाँचीमा एक जघन्य अपराधको अनुसन्धानमा कमजोरी गरिएको पाएपछि त्यो बेला अनुसन्धान गर्ने अधिकारीमाथि कारबाही हुने भएको छ । तत्कालिन अर्घाखाँची प्रहरी प्रमुख डीएसपी मुकुन्द रिजाल (हाल एसपी) सहित मुद्दा शाखामा कायरत प्रहरी अधिकारीमाथि कारबाही हुने भएको हो । डीएसपी रिजालसहितको टोलीले तीन वर्षअघि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ का ४५ वर्षीय पदम केसीको हत्या अनुसन्धानमा कमजोरी गरेको भेटिएपछि कारबाही हुने भएको हो ।

घटनाबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी कार्यालय दाङका प्रमुख एसएसपी दिपक पोखरेलको नेतृत्वमा छानबिन समिति बनाएको थियो । सोही समितिको प्रतिवेदनका आधारमा एसपी रिजालसहितको अनुसन्धान टोलीलाई कारबाहीका लागि सिफारिस गरिएको हो । छानबिन समितिले तयार गरेको प्रतिवेदन प्रहरी प्रधान कार्यालयको कानुन शाखा पुगेको छ । nabil प्रतिवेदनमाथि कानुन शाखा र अपराध अनुसन्धान विभागले थप विश्लेषण गरेर उनीहरुमाथि कारबाही गर्नेछ । प्रहरी स्रोतका अनुसार त्यो बेला अनुसन्धान गर्ने अधिकारीले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाले छ । नेपाल प्रहरीका सह–प्रवक्ता एसएसपी दिपशमशेर जबराले छानबिन समितिले तयार पारेको प्रतिवेदन अध्ययनको क्रममा रहेको जानकारी दिए । ‘‘समितिले प्रतिवेदन बुझाएको छ ।

अपराध अनुसन्धान विभागले पनि त्यसबारे हेरिरहेको छ । बाँकी के गर्ने भन्ने अहिले भएको छैन,” उनले भने । हाल एसपी रिजाल कर्णाली ट्राफिक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् । पदमको २०८० साउन २६ गते शंकास्पद मृत्यु भएको थियो । तर, त्यो बेला प्रहरीले व्यक्ति हत्याजस्तो जघन्य अपराधको अनुसन्धानमै लापरबाही गर्दा करिब तीन वर्षसम्म घटनाले अर्कै मोड लिएको थियो । मुचुल्का उठानमै गम्भीर त्रुटि अपराध अनुसन्धानमा ‘क्राइम सिन’ र मुचुल्ला उठान नै अपराध अनुसन्धानको पहिलो खुट्किलो हो । तर, पदमको मृत्यु प्रकरणमा प्रहरीले मुचुल्का उठान र घटनास्थल सुरक्षामै गम्भीर त्रुटि गरेको पाइएको छ ।

४५ वर्षीय पदम केसी २०८० साउन २६ गते बिहान मकैबारीमा गोली लागेको अवस्थामा फेला परे । बायाँ छातीमा गोली लागेर घाइते अवस्थामा भेटिएका पदमलाई तत्काल अर्घाखाँची जिल्ला अस्पताल पुर्‍याइयो । तर, उनलाई अस्पतालले मृत्यु घोषणा गर्‍यो । तर, त्यो बेला प्रहरीले बाँदर मार्ने क्रममा पदमले बोकेको भरुवा बन्दुक आफैँ पड्किदा उनको मृत्यु भएको उल्लेख गर्‍यो । पदमको मृत्यु हुँदा उनीसँगै पदमका दाई निमबहादुर केसीसमेतसँगै थिए । निमबहादुर केसी सहितका केही प्रत्यक्षदर्शीले पदमको मृत्युलाई भबितब्य बनाए । निमबहादुरले घटनालाई मोड्ने गरी विवरण प्रहरीलाई सुनाएका थिए । प्रहरीले निमबहादुरले बताएजस्तै पदमको मृत्युलाई भबितब्य नै बनायो । पदमको मृत्यु शंकास्पद हुनसक्ने कुनै पनि कोणबाट अनुसन्धान गरेन ।

आफूले बोकेको बन्दुकको गोली आफ्नै छातिमा कसरी लाग्न सम्भव हुन्छ ? भन्ने सामान्य शंकाको घेरामा समेत प्रहरीले राखेन । उल्टै मृतकका छोरा ईश्वर केसीलेसमेत भवितब्य नै हुन सक्ने बताएको प्रहरी बताउँछ । त्यसपछि प्रहरीले पदमको मृत्युलाई अनुसन्धानको दायरामै ल्याएन । तीन वर्षपछि हत्यामा बदलियो मृतक पदम केसीकी छोरा ईश्वरले २०८० मै बुबाको मृत्युलाई अस्वाभाविक मानेका थिए । तर, अनुसन्धान गर्ने निकाय प्रहरीले नै बुबाको मृत्युलाई सामान्य भवितब्य बनाएपछि उनको केही लागेन । बुबाको मृत्युबारे अनुसन्धान गरिदिन प्रहरीलाई आग्रह नै गर्न छाडे । तर, त्यो बेलाका प्रहरी अधिकारीप्रति उनी सन्तुष्ट थिएनन् ।

अर्घाखाँचीबाट त्यो बेलाका प्रमुख डीएसपी रिजाल सरुवा भएपछि भने उनी निरन्तर प्रहरीलाई आफ्नो बुबाको मृत्युबारे निष्पक्ष अनुसन्धान गर्दिन माग गर्दै पुनः अर्को पुरक जाहेरी दिए । यो बीचमा रिजाल पछि अन्य दुईजना डीएसपीको कार्यकाल पूरा भयो । तर, पदमको मृत्युबारे सत्यतथ्य पत्ता लागेन । घटनाको करिब तीन वर्षपछि भने पदमको मृत्यु भवितब्य नभएर हत्या भएको निस्कर्ष प्रहरीले गर्‍यो । पदमको मृत्युपछि गरिएको पोष्टमार्टम रिपोर्ट, बन्दुकको गोली आफ्नै छातीमा लाग्नसक्ने सम्भावनाबारे विश्लेषण, फरेन्सिक जाँचलगायतका विभिन्न कोणबाट अनुसन्धान थाल्यो । सोही अनुसन्धानका निष्कर्षपछि पदमको हत्यामा निमबहादुर केसीको संलग्नता देखिएको हो । अर्घाखाँचीका हाल प्रमुख डीएसपी दिवस जीसी नेतृत्वको टोलीले तीन वर्षअघिको भवितब्य घटनालाई अनुसन्धानबाट हत्यामा कन्भर्ट गरेको हो । प्रहरीले निमबहादुरलाई बैशाख अन्तिम साता पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका निमबहादुरलाई जिल्ला अदालत अर्घाखाँचीले पुर्पक्षका निम्ति जेलसमेत पठाएको छ । सोही घटना उल्टिएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले त्यो बेलाका अनुसन्धान गर्ने अधिकारीमाथि छानबिन गर्न समिति बनाएको हो । प्रहरीको छानबिन समितिको क्रममा हत्यापछि बरामद गरेका केही अन्य बन्दुक बरामद गरेपछि बेवारिसे फेला परेकामा परिणत गरेको पाइएको छ । छानबिनका क्रममा निमबहादुरले प्रयोग गरेको बन्दुक समेत घटनाको केही समयपछि प्रहरीले फेला पारेको थियो ।

तर, त्यो बन्दुकबारे समेत कुनै अनुसन्धान नगरी बेवारिसे सूचीमा राखेको पाइएको छ । छानबिनका क्रममा त्यो बेलाका डीएसपी रिजाल र अनुसन्धान अधिकारी विक्रम रिजार मोलाहिजामै परेको देखिएको छानबिन समितिले उल्लेख गरेको छ । समितिले प्रतिवेदनमा लेखेको छ,‘‘ डीएसपी रिजाल र अनुसन्धान अधिकारी विक्रम मोलाहिजामा परी अपराध अनुसन्धान शाखामा कार्यरत तत्कालिन प्रहरी हवल्दार रामबहादुर बिकलाई परिचालन गरी कसुरमा प्रयोग भएको हतियार नै नष्टगरी हाल पक्राउ परेका प्रतिवादीविरुद्ध हातहतियार खरखजना मुद्दा उठान नै नहुने गरी नष्ट गरेर सार्वजनिक पदको दूरुपयोग तथा त्रुटिपूण तवरले गैरव्यवसायिक कार्यगरेको देखिन्छ ।’’ हाल अनुसन्धानका क्रममा मृतक पदम र हत्याका अभियुक्त निमबहादुर सौतेनी दाजुभाइसमेत रहेको खुलेको छ । निमबहादुरले हाल आएर गोली आफ्नै बन्दुकबाट लागेकोसमेत स्वीकार गरेका छन् ।

बार्हखरीले समाचार लेखेकाे छ ।

सम्बन्धित खबर

जाजरकोटमा अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा  फरार रहेका चन्द पक्राउ

जाजरकोटमा अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा फरार रहेका चन्द…

जाजरकोट, जेठ १८ — अपमानजनक तथा अमानवीय व्यवहार मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ।…
 जाजरकोटमा महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोप रास्वपा नेता पक्राउ

 जाजरकोटमा महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोप रास्वपा नेता…

जाजरकोट, जेठ १८ — जाजरकोटको कुशे गाउँपालिकामा एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…
रास्वपा चिङ्गाड गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा महेश जिसी सर्वसम्मत चयन

रास्वपा चिङ्गाड गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, सभापतिमा महेश जिसी…

सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चिङ्गाड गाउँपालिकाको प्रथम सम्मेलन तथा अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले महेश जिसीको नेतृत्वमा नयाँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *