- बैशाख २७, २०८३
- No Comment
- 7
वीरेन्द्रनगरमा ‘श्रृङ्गारिक महाआरती तथा धर्म जागरण महोत्सव’ उद्घाटन

वीरेन्द्रनगर, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, दौलतपुरस्थित पिपल चौतारी शिव मन्दिर प्राङ्गणमा “दौलतपुर वीरेन्द्रनगर श्रृङ्गारिक महाआरती धर्म जागरण सप्ताह महा महोत्सव–२०८३” भव्य रूपमा उद्घाटन गरिएको छ। महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री सुरेश अधिकारीले गरेका हुन्।
दौलतपुरस्थित शिव मन्दिरको पुनर्निर्माण तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यले सुरु गरिएको महोत्सवमा आयोजक समितिका महानिर्देशक गोपालराज सुनार, वडा नं. २ का सदस्य मोहन सुनार, पूर्व वडा अध्यक्ष बलबहादुर रोकाया, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशील शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
महोत्सवको पहिलो दिन बिहानैदेखि वीरेन्द्रनगरमा विशेष धार्मिक उत्साह देखिएको थियो। विभिन्न धार्मिक संघ–संस्थाको सहभागितामा निकालिएको भव्य र्याली तथा सयौँ महिला भक्तजनहरूको कलश यात्राले नगर क्षेत्र भक्तिमय बनेको थियो। परम्परागत भेषभूषामा सजिएका श्रद्धालुहरूले नगर परिक्रमा गरेका थिए।
उद्घाटन सत्रमै दानवीरहरूको उल्लेखनीय सहभागिता देखिएको आयोजकले जनाएको छ। मूल आयोजक समितिका संयोजक प्रेमबहादुर थापाले मन्दिर निर्माण अभियानका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। आयोजक समितिले दाताहरूलाई दानको प्रकृतिअनुसार ‘रुद्राक्ष माला’, ‘शिलालेखमा नाम’ तथा ‘दैनिक महानायक’ जस्ता विशेष सम्मान प्रदान गर्ने व्यवस्था गरिएको जनाएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा हजारौँ श्रद्धालुहरूको उपस्थिति रहेको थियो। आजदेखि सुरु भएको महोत्सव जेठ २ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।



