- बैशाख ४, २०८३
- No Comment
- 47
कर्णाली नदीमा डुङ्गा पल्टिँदा घाँस काटेर फर्कँदै गरेका बाबु-छोरा बेपत्ता

अछामको तुर्माखाँद गाउँपालिका हुँदै बग्ने कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकै परिवारका दुई जना बेपत्ता भएका छन्। वैशाख ३ गते साँझ तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानस्थित नदीमा डुङ्गा पल्टिँदा सोही वडाको बल्दे निवासी ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा नदीमा डुबेर बेपत्ता भएका हुन्।
उनीहरू कर्णाली नदी पार गरेर छिमेकी जिल्ला सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित जङ्गलमा घाँस काट्न गएका थिए। साँझपख सङ्कलन गरेको घाँस लिएर घर फर्कने क्रममा बुबा पहलसिंह आफैँले चलाएको डुङ्गा नदीमा एक्कासि अनियन्त्रित भई पल्टिएको थियो।
घटनाको जानकारी पाउनासाथ हराइरहेका बाबु-छोराको खोजी कार्यलाई तीव्रता दिइएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख (डीएसपी) ओमप्रकाश खनालका अनुसार स्थानीय अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णालीका साथै भैरवस्थान, ढुङ्गाचाल्ना र ढकारीको प्रहरी टोली खोजी कार्यमा खटिएको छ। यसका अतिरिक्त, थप प्रभावकारी उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिमप्राप्त विशेष टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको छ।



