- फाल्गुन १, २०८२
- No Comment
- 53
सल्यानकाे बनगाड कुपिण्डेमा पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नविन पि.एम, सल्यान। बनगाड कुपिण्डे नगरपालिका मा पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार देखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रभाकर माध्यमिक विद्यालय देवस्थल मा गरिएको हो।
नगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा नगर खेलकुद विकास समिति अध्यक्ष रिमबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख कर्णबहादुर बुढाथोकी प्रमुख अतिथि रहनुभएको थियो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सुरु भएको प्रतियोगिता फागुन २ गतेसम्म तीन दिन सञ्चालन हुने नगर खेलकुद विकास समितिले जनाएको छ।
प्रतियोगितामा ८ सामुदायिक तथा २ संस्थागत (बोर्डिङ) गरी १० विद्यालयको सहभागिता रहेको छ। विभिन्न विधामा विद्यार्थी खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी, १२ वटै वडाका वडाध्यक्षहरू, जिल्ला खेलकुद समितिका अध्यक्ष खड्क आचार्य, शिक्षक, विद्यार्थी खेलाडी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगरपालिकाले खेलकुदमार्फत विद्यार्थीमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि हुने अपेक्षा गरेको जनाएको छ।



