- माघ १६, २०८२
- No Comment
- 55
यस्ता छन् ‘ग्रिन टी’का फाइदा

काठमाडौं — कम प्रशोधन गरिने र अक्सिडाइज नगरिएका पत्तीबाट बनाइने ग्रिन टीमा प्रशस्त एन्टिअक्सिडेन्ट तथा पोलिफेनल्स पाइने भएकाले यसलाई विश्वकै स्वास्थ्यकर पेयमध्ये एक मानिन्छ। पछिल्ला विभिन्न अध्ययनहरूले ग्रिन टीले मुटु स्वास्थ्यदेखि क्यान्सर जोखिम घटाउनसम्म सकारात्मक भूमिका खेल्ने देखाएका छन्।
ग्रिन टी भारत र चीनजस्ता देशहरूमा परम्परागत रूपमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणाली बलियो बनाउन तथा शरीरको तापक्रम सन्तुलनमा राख्न औषधिका रूपमा प्रयोग हुँदै आएको छ। हालका अनुसन्धानहरूले तौल घटाउने, कलेजोसम्बन्धी समस्या र टाइप–टु मधुमेहमा पनि यसको सम्भावित लाभ औंल्याएका छन्।
चिनी नहालिएको ग्रिन टीमा क्यालोरी शून्य हुन्छ। साथै यसमा क्याफिनको मात्रा पनि कम हुन्छ। एक कप ब्ल्याक टीमा करिब ५० मिलिग्राम र कफीमा ९५ मिलिग्राम क्याफिन हुने भए पनि ग्रिन टीमा भने २० देखि ४५ मिलिग्राम मात्र क्याफिन पाइन्छ।
नेशनल क्यान्सर इन्स्टिच्युटका अनुसार ग्रिन टीमा पाइने पोलिफेनल तत्वले ट्युमरको वृद्धि कम गर्न मद्दत गर्नुका साथै पराबैजनी किरणबाट हुने क्षतिबाट जोगाउन सहयोग पुर्याउँछ। ग्रिन टी बढी सेवन गरिने देशहरूमा क्यान्सरको दर कम देखिनु पनि अध्ययनहरूले देखाएका छन्। यद्यपि, क्यान्सर घट्नुमा ग्रिन टीकै प्रत्यक्ष भूमिका हो वा समग्र जीवनशैलीको असर भन्ने विषयमा अझै स्पष्ट निष्कर्ष निस्किएको छैन।
अध्ययनअनुसार ग्रिन टी सेवन गर्ने व्यक्तिमा प्याङ्क्रियाटिक क्यान्सरको जोखिम सेवन नगर्नेहरूको तुलनामा करिब ५० प्रतिशत कम देखिएको छ। यसले स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला र पेटका क्यान्सरमा पनि सकारात्मक प्रभाव पार्ने पाइएको छ। अनुसन्धानकर्ताहरूका अनुसार ग्रिन टीमा रहेका पोलिफेनल्सले क्यान्सरग्रस्त कोषिकाको वृद्धि रोक्न सहयोग गर्छ।
सन् २००६ मा अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित एक अध्ययनले ग्रिन टीको नियमित सेवनले मुटुजन्य रोगबाट हुने मृत्युदर कम हुने देखाएको थियो। ४० देखि ७९ वर्ष उमेर समूहका करिब ४० हजार जापानीलाई ११ वर्षसम्म गरिएको अध्ययनमा दैनिक पाँच कपसम्म ग्रिन टी सेवन गर्नेमा मुटुरोगको जोखिम कम पाइएको थियो। अर्को अध्ययनले दैनिक १० कपसम्म ग्रिन टी सेवन गर्नेमा कोलेस्ट्रोलको मात्रा घटेको देखाए पनि चार कपभन्दा कम सेवन गर्नेमा खासै परिवर्तन देखिएको थिएन।
टाइप–टु मधुमेहको जोखिम कम गर्न ग्रिन टी उपयोगी हुन सक्ने केही अध्ययनले संकेत गरेका छन् भने केही अनुसन्धानकर्ताले यसको प्रत्यक्ष सम्बन्ध नरहेको दाबी गरेका छन्। तौल घटाउने विषयमा पनि ग्रिन टीले सहयोग पुर्याउन सक्ने देखिए तापनि यसैलाई मुख्य उपाय मान्न भने पर्याप्त आधार नरहेको बताइन्छ।
यसका साथै ग्रिन टीले दाँत सड्ने समस्या, छालासम्बन्धी रोग र आर्थराइटिसजस्ता समस्यामा पनि लाभ पुर्याउने अध्ययनहरूमा उल्लेख छ। हालै जर्नल अफ द अमेरिकन हार्ट एसोसिएसनमा प्रकाशित अध्ययनले नियमित ग्रिन टी सेवनले स्ट्रोकको जोखिम कम गर्ने जनाएको छ। बेलायती अनुसन्धानकर्ताहरूले ग्रिन टीसँगै ब्रोकाउली, बेसार र अनारजस्ता खाद्य पदार्थले प्रोस्टेट क्यान्सरविरुद्ध लड्न सहयोग गर्ने पनि बताएका छन्।
विशेषज्ञहरूका अनुसार ग्रिन टी स्वास्थ्यका लागि उपयोगी भए पनि सन्तुलित आहार र स्वस्थ जीवनशैलीसँगै यसको सेवन गर्दा मात्र दीर्घकालीन लाभ प्राप्त गर्न सकिन्छ।



