- अशोज ३०, २०८२
- No Comment
- 20
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार बुधबार राति मालाकान्द जिल्लामा एक ट्रक तीव्र मोड पार गर्ने क्रममा नियन्त्रण गुमाएर पल्टिँदा दुर्घटना भएको हो। उद्धार प्रवक्ता बिलाल फैजीलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ कि मृतक र घाइतेहरू सबै स्वात जिल्लातर्फ जाँदै गरेका एक घुमन्ते परिवारका सदस्य हुन्।
दुर्घटनापछि उद्धार टोलीहरू स्थानीय प्रहरी र प्रशासनका सहयोगमा तुरुन्तै घटनास्थल पुगेका थिए। उनीहरूले मृतक र घाइतेहरूलाई नजिकैको अस्पताल पुर्याएका छन्।
अधिकारीहरूले जनाएका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ, जसले मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।
स्थानिय प्रशासनले दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।