- अशोज ५, २०८२
- No Comment
- 40
जेनजी आन्दोलनमा रवि लामिछानेसंगै नख्खु कारागारबाट भागेका कैदीले गरे पत्नीको हत्या

काठमाडौं – जेनजी आन्दोलनका क्रममा रवि लामिछानेसंगै नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै श्रीमतीको ज्यान लिएका छन्। श्रीमतीको हत्या गरी घरको करेसामा गाडेका सन्तबहादुर तामाङ अहिले फरार रहेका प्रहरीले जनाएको छ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, कलाँतीस्थित घरको पछाडिपट्टि करेसामा गाडिएको अवस्थामा उनकी पत्नी ३१ वर्षीया जमुना तामाङको शव भेटिएको हो। तीन दिनदेखि सम्पर्कविहीन रहेकी जमुनाको खोजतलास गर्ने क्रममा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
२४ गते नख्खु कारागारबाट फरार भएका तामाङ घरमै लुकेर बसिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। जबर्जस्तीकरणी उद्योगमा तीन वर्षे कैद सजाय भोगिरहेका उनको कैद अवधि पूरा हुन एक महिना मात्र बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार, श्रीमान–श्रीमतीबीच केही दिनदेखि विवाद भइरहेकाले सोही कारण हत्यासम्म पुगेको आशंका गरिएको छ। हत्यापछि तामाङ फरार भएका छन् भने उनका ११ वर्षका छोरा र ३ वर्षकी छोरी असहाय भएका छन्।
प्रहरी टोली घटनास्थल पुगिसकेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।