- अशोज ५, २०८२
- No Comment
- 52
जुम्ला कारागार काण्ड : ३६ मध्ये २२ पक्राउ, १४ अझै फरार

जुम्ला – जुम्लास्थित जिल्ला कारागारबाट भदौ २४ गते राति भागेका ३६ जना कैदीमध्ये २२ जनालाई प्रहरीले पक्राउ गरेको छ। तर अझै १४ जना फरार रहेकाले उनीहरूको खोजी कार्यलाई प्रहरीले व्यापक र तीव्र बनाएको जनाएको छ।
घटनाको पृष्ठभूमि अनुसार, चन्दननाथ नगरपालिका–६ मा रहेको कारागारमा कैदीहरूले सुरक्षामा खटिएका प्रहरी र कैदी नाइकेलाई चिर्पटले प्रहार गरी घाइते बनाउँदै ढोका फोडेर सामूहिक रूपमा भागेका थिए। घटनाको रातमै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो भने पछिल्ला दिनमा निरन्तरको अनुसन्धान र खोजीमार्फत थप १७ जनालाई पक्राउ गरिएको जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार, फरार कैदीहरूको खोजीका लागि प्रहरी टोलीहरू परिचालन गरिएका छन्। साथै, उनीहरूलाई आफन्तमार्फत आत्मसमर्पण गराउन पहल भइरहेको छ। प्रहरी प्रशासनले समयमै सम्पर्कमा नआए थप कैद सजाय थपिन सक्ने चेतावनीसमेत दिएको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले फरार कैदीहरूलाई स्वेच्छाले फर्किन सार्वजनिक अपिल गरेको छ। कारागारमा सुरक्षाको कमजोरीका कारण भएको घटनापछि हाल सुरक्षा व्यवस्था कडा पारिएको र यस्ता घटना पुनः नदोहोऱ्याउन विशेष सतर्कता अपनाइएको जनाएको छ।