- अशोज १, २०८२
- No Comment
- 76
‘जेनजीलाई देखाएर व्यवस्था मासिँदैछ, सचेत बनौं’ – मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले जेनजी आन्दोलन कुनै एक पार्टी वा नेताविरुद्ध मात्र नभई सिंगो देश र व्यवस्थाविरुद्ध भएको बताएका छन् । एमाले सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले आन्दोलनपछि भएका घटनाक्रमले त्यसको पुष्टि गरेको उल्लेख गरे ।
कँडेलले जेनजी आन्दोलनलाई केवल सरकारविरुद्धको प्रदर्शन भनेर बुझ्दा ठूलो उपलब्धि गुम्ने चेतावनी दिए । उनका अनुसार दलका कार्यालय, सरकारी कार्यालय र नेताका घर जलाउनु मात्र नभई संविधानका धारासम्म उल्लंघन भएको छ, जसले मुलुकको अस्तित्व नै संकटमा पार्ने अवस्था आएको छ ।
‘२०७२ को संविधान अर्धमुर्छित अवस्थामा पुगेको छ, सामान्य अवस्थामा अदालतले पनि बचाउन सक्थ्यो, तर अहिले त्यसको सम्भावना छैन,’ उनले भने, ‘बरु हामी आफ्ना कमी–कमजोरी सच्याएर जनविश्वास जित्नुपर्ने बेला आएको छ ।’
कार्यक्रममा एमाले प्रदेश अध्यक्ष गुलाबजंग शाहले विगतमा एमालेविरुद्ध प्रहार गर्ने शक्तिहरुले नै अहिले जेनजी आन्दोलनलाई प्रयोग गरेर संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउन खोजेको बताए । एमाले सुर्खेत अध्यक्ष कुलमणि देवकोटाले जेनजी आन्दोलनको नाममा प्रतिगामी शक्तिले हजारौं कार्यकर्ताको लगानीमा बनेका पार्टी कार्यालय जलाएको आरोप लगाए ।