- अशोज १, २०८२
- No Comment
- 87
कर्णालीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

असाेज १– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै रहेकाले देशभर मौसम बदली भएको जनाएको छ । अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पनि देखिएको विभागले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो बागमती र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराईका कतिपय स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा सामान्य बदली रहने छ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने अनुमान छ । मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा अन्य भूभागका केही स्थानमा मध्यम वर्षा हुने र मधेस, कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा भारी वर्षा पर्न सक्ने महाशाखाको पूर्वानुमान छ ।
विभागले वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, नदी–नाला र खोलामा पानीको सतह उक्लिन सक्ने र यातायात प्रभावित हुन सक्ने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ ।