- भदौ २८, २०८२
- No Comment
- 67
शाहीद्वारा संसद विघटन असंवैधानिक भन्दै कडा आपत्ति, सेनामाथि षड्यन्त्रको आरोप

सुर्खेत — नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति कडा आपत्ति जनाएका छन् । उनले यो कदमले लोकतान्त्रिक मूल्य र संविधानलाई गम्भीर संकटमा पारेको दाबी गरेका छन् ।
शाहीले भने, “हजारौं नेपालीको बलिदान र शहीदहरूको रगतले प्राप्त संविधानलाई आज सेनाको बन्दुकले कुल्चेर समाप्त पारिएको छ । नेपाली सेनाले योजनाबद्ध षड्यन्त्रको चक्रव्यूह रचेर गणतन्त्रको हत्या गरेको छ, जुन नेपालको लोकतान्त्रिक इतिहासमा अत्यन्तै दुर्भाग्यपूर्ण पाटो बन्न गइरहेको छ ।”
उनका अनुसार जनताले निर्वाचित गरेको संसदलाई बलपूर्वक भङ्ग गर्नु केवल संवैधानिक व्यवस्थाको मात्र हनन नभई लोकतान्त्रिक मूल्य र मान्यतामाथि गरिएको ठूलो धक्का हो । उनले सेनाले बन्दुकको बलमा निरङ्कुशता थोपर्न खोजेको स्पष्ट देखिएको टिप्पणी गरे ।
साथै शाहीले हालैको जेनजी आन्दोलन र त्यस क्रममा देखिएका गतिविधिहरूलाई पनि जोडेर सरकार र सेनामाथि प्रश्न उठाए । उनले भने, “जेनजी वा अन्य कुनै समूहले सार्वजनिक सम्पत्ति तोडफोड गर्दा, बैंक लुट्दा सुरक्षा नदिने सेनाले आफ्नो परमाधिपतिको राष्ट्रपति कार्यालयमा आगो लगाउने घटनालाई समेत रोक्न नसक्नु अत्यन्तै गम्भीर षड्यन्त्रको संकेत हो ।”
उनले लोकतान्त्रिक प्रणालीलाई बलपूर्वक ध्वस्त पार्ने प्रयासले देशलाई अस्थिरता, अविश्वास र अराजकतातर्फ धकेल्ने चेतावनी पनि दिए । शाहीले नागरिक समाज, राजनीतिक दल र आम जनतालाई संविधान र गणतन्त्र जोगाउन एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।