- फाल्गुन २९, २०८२
- No Comment
- 5
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा
फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई दिनमा २ सय देखि ५ सय सम्म लिटर पानिले हातमुख धुन त के पानि पिउन समेत समस्या देखिन थालेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–५ शंखपिपल, च्युरास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा खानेपानीको चरम सङ्कट भएको छ । विद्यालयकाे पुरानो स्थायि खानेपानी मुहान सुके पछि खानेपानी समस्या उत्पन्न भएको बिधालय प्रशासनले जनाएको छ ।
शौचालय प्रयोग र सरसफाइकाे कुरा त परै जावस विद्यार्थीहरुले विद्यालय सञ्चालन हुदा यतिखेर पानी खान पाएका छैनन्। हाल गाउँमा सञ्चालन भइरहेको सोलार लिफ्ट प्रणालीको खानेपानी योजनाबाट दिनभरका लागि जम्मा दुई सयदेखि पाँच सय लिटर मात्रै पानी उपलब्ध हुने गरेको छ ।
उक्त पानीले विद्यार्थीलाई पिउनका लागि समेत पर्याप्त नहुने विद्यालयका निमित्त प्रधानाध्यापक प्रशान्त सुनारले जानकारी दिनुभयो । “पहिले खैरागार तल रहेको मुहानबाट विद्यालयमा पानी आउने गर्थ्यो, तर अहिले उक्त मुहान सुकिसकेको छ । गर्मी बढ्दै जाँदा पानीको समस्या झनै जटिल बन्दै गएको छ,” उहाँले भन्नुभयो । खानेपानी अभावका कारण विद्यालयको सरसफाइ तथा शौचालय प्रयोगसमेत प्रभावित भएको छ । पानीको अभावले शौचालय प्रयोग गर्न समस्या भएको र विद्यालयको सरसफाइ कायम राख्न समेत कठिनाइ भइरहेको निमित्त प्रधानाध्यापक सुनारले बताउनुभयो ।
खानेपानी समस्या समाधानका लागि बनगाड खोला नजिक कुवा खनेर लिफ्ट प्रणालीमार्फत पानी ल्याउनुको विकल्प नरहेको विद्यालयले जनाएको छ । “नजिकमा कतै पनि पानीका मुहान छैनन् । बनगाड खोला नजिकै प्राविधिक धार सञ्चालनका लागि विद्यालयले लिजमा लिएको जग्गामा कुवा खनेर त्यहाँबाट लिफ्ट प्रणालीमार्फत पानी ल्याउन सकिने सम्भावना देखिएको छ,” निमित्त प्रअ सुनारले भन्नुभयो । समस्या समाधानका लागि बनगाड कुपिण्डे नगरपालिका तथा कर्णाली प्रदेश सरकार समक्ष माग पेश गरिएको विद्यालयले जनाएको छ । यसैबीच अभिभावक तथा स्थानीय सरोकारवालाहरूले पनि विद्यालयमा देखिएको खानेपानी समस्याको तत्काल समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।