- अशोज १८, २०८१
- No Comment
- 36
आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
आज नवरात्रीको दोस्रो दिन शुक्रबार पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा—आराधना गरिँदै छ । दसैंको पहिलो दिन बिहीबार घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो ।
घटस्थापनाकै पहिरो दिन नव दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
नवरात्रीका नौ दिन दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रीका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूणर्िमाका दिनसम्म टीकाजमराका रूपमा लगाइन्छ । नवरात्रीका अवसरमा विभिन्न शक्ति पीठहरूमा दर्शनार्थीको घुइँचो लाग्छ। काठमाडौंको शोभा भगवती, गुह्वेश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, जोरपाटीको चामुण्डा भगवती आदि मन्दिरमा विशेष पूजाअर्चना हुनेगर्छ । नवमीको दिन हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा विशेष पूजाआराधना हुने गरेको छ ।