• अशोज १७, २०८१
  • 1 Comment
  • 26

आत्म देव भट्टको बडादशैँको उत्साह अनि बाल्यकालिन संस्मरण

यतिबेला हामी नेपालीहरु महानचाड बडादशैँको संघारमा छौँ । सोह्र श्राद्ध भर्खरै मात्र सकिएको छ । घटस्थापनासँगै हामीले बडादशैँलाई स्वागत गरिसकेका छौँ । बडादशैँको दशौँ दिन विजयादशमी । विजयादशमी भन्ने शब्दले मूलतः टीका, जमरा र आर्शिवाद थाप्ने दिन अर्थात् शत्रुमाथी विजय भएको दिनलाई मात्र जनाउने गरेतापनि नेपाली जनजिब्रोमा सिङ्गो बडादशैँलाई नै विजयादशमी भनेर बुझ्ने प्रचलन पनि ब्याप्त छ । जो होस् बडादशैँ, दशैँ वा विजयादशमी भन्ने शब्दले हाम्रो मानसपटलमा भने हामी नेपालीहरुको महान चाडलाई नै ईङ्गित गरिरहेको हुन्छ ।

जब जिम्मेवारीले थिच्दै जान्छ नि, तब चाडबाडको महत्वमा पनि फिकापनको महसुस गर्ने गरेको छु । जुनबेला मलाई मेरो कर्तव्य थाहा थिएन, मेरो काँधमा जिम्मेवारी आएको थिएन, हो त्यो बेला म निर्धक्क भएर हर्ष अनि उमङ्गका साथ बडादशैँ मनाउने गर्दथेँ । त्यसबेला हरेक चाडपर्वहरु रङ्गिन हुने गर्दथे । हो, बालापन । तपाईहरुले पनि बालापनमा बडादशैँको जुन आनन्द अनि उमङ्ग महसुस गर्नुहुन्थ्यो, त्यही आनन्द, उत्साह अनि उमङ्ग अहिले नभएको हुनसक्छ, नरहेको हुनसक्छ, होईन र ?

स्कूलमा पढ्दै गर्दा बडादशैँ आउन लाग्यो भनेर आश्विन महिना लागेदेखी नै औधी खुसी हुने गर्दथ्यौँ । बडादशैँको घटस्थापनादेखी यमपञ्चकको भाईटीकासम्म विद्यालय छुट्टी हुने गर्दथ्यो । त्यतिखेर बिदाका बेलामा “विद्यार्थीहरु बिग्रन सक्छन्, पढाईबाट उनीहरुको ध्यान अनि बानी हट्न सक्छ” भनेर होला सायद, शिक्षकहरुले पनि धेरै भन्दा धेरै गृहकार्य दिने गर्नुहुन्थ्यो । सँधैभरी स्कूलमा पढ्दा पढ्दा दशैँतिहारका समयमा मज्जाले साथीभाईहरुसँग खेलकुद गर्न पाईन्छ, आफन्तहरुसँग भेटघाट गर्न पाईन्छ अनि पढाईबाट ध्यान हटाउन पाईन्छ भनेर खुसी हुने गरेका हामीलाई गृहकार्यको बोझले केही गलाउँथ्यो ।

तर पनि धेरै भन्दा धेरै समय मनोरञ्जनमा व्यतित् गर्नका लागि हामी घटस्थापनाकै दिन सम्पूणर् गृहकार्य सकाई दशैँ तिहार भरी नपढ्नका लागि तयार हुन्थ्यौँ । त्यसबेला पढ्न बाहेक सम्पूणर् कार्य गर्न हाम्रो मन मञ्जुर हुने गर्दथ्यो । साँच्चै नै पढाई भन्ने कुरा उसै त बोझ लाग्दथ्यो । अझ दशैँतिहारका बेलामा पनि लेखपढ गर्नका लागि भनेर शिक्षकबाट निर्देश हुँदा मन गह्रौँ हुने गर्दथ्यो । यता पढाईका कुरा, उता बाआमाले आफूले चाहे झैँ या सोचे झैँ नयाँ नाना किनिदिनु हुन्छ कि हुन्न होला भनेर लाग्ने चिन्ता अझ बेग्लै हुन्थ्यो । दाजुभाईमा एकरुपता कायम गर्नका लागि सँधै एकैथरीका कपडा किनेर टेलरको भैरब अङ्कललाई सिलाउन दिने गर्नुहुन्थ्यो । भैरब अङ्कललाई “भैरै अङ्कल” भनेर हामी बोलाउने गर्दथ्यौँ । “लुगा कहिले तयार होला ?” भनेर फूलपातीको दिन देखी टेलर अङ्कलकहाँ बास हुन्थ्यो । अरुको लुगा सिलाउँदा हाम्रो लुगाको पालो कहिले आउला भनेर कुरेर बस्ने गर्दथ्यौँ । त्यो लुगा सिलाएको हेर्दा हेर्दा यस्तो लाग्थ्यो कि “म आफैँ अर्को कल (लुगा सिलाउने मेशिन) मागेर लुगा सिलाउँ कि, अब त मैले पनि लुगा सिलाएको हेर्दाहेर्दै धेरै जान्ने भईसकेको छु । बरु कसैको पनि पालो नमिचि, अरु सबैको लुगा सिलाएर आफ्नो पालो आएपछि मात्र पहिले मेरो दिदीको अनि मेरो भाईको र अन्त्यमा मेरो लुगा सिलाउने थिएँ” । फूलपातीदेखी महानवमीसम्मको करिब ३ दिनको अवधी त्यही टेलर भैरे अङ्कलकहाँ बित्ने गर्दथ्यो नयाँ लुगा कुर्दा कुर्दा ।

“अरुहरुले फूलपातीदेखी नै नयाँ लुगा लगाउन थालिसके, कपडा पसलबाट कपडा किनेर पनि बेलैमा बा मम्मीले टेलरको भैरे अङ्कललाई सिलाउन दिनु भएको, तर अझैपनि लुगा तयार भएको छैन” भन्ने लागेर कहिले मनमनै रिसाउँथ्यौँ । “कपडा फिर्ता लिएर जानुपर्छ कि” भन्ने झोँक पनि चल्ने गर्थ्यो बेलाबेलामा । “तर के गर्नु, टेलर भैरे अङ्कल बाहेक अरु कसले सिलाईदेला यी लुगा ? फेरी लुगा लिएर गयौँ भने सिलाईदिने अर्को टेलर अङ्कल नभएकोले ढिलै भए पनि भेरै अङ्कललाई नै सिलाउन लगाउनु पर्छ” भनेर कुरेरै बस्दथ्यौँ ।

यस्तै यस्तै भावहरु मनमा पैदा हुन्थे लुगा तयार नहुञ्जेल । उनी पनि त सँधै लुगा सिलाउन व्यस्त नै रहन्थे । भैरब अङ्कलले कुनै साल महानवमीका दिन त कुनै साल बिजयादशमीका दिन बिहान मात्र नयाँ नाना तयार पारेर दिनुहुन्थ्यो । त्यो नयाँ नाना लगाईसके पछि बल्ल “मेरो पनि दशैँ आयो है” भन्ने भान हुन्थ्यो, खुसीको सीमा रहन्थेन । अनि नयाँ नाना लगाएर चारैतिर डुल्न रहर गरिन्थ्यो ।

अहिले म मनन् गर्ने गर्छु कि टेलरको भैरे अङ्कललाई भने बिरामी हुने छुट पनि थिएन त्यसबेला । दशैँ त उहाँलाई पनि आएको थियो नि । लुगा सिलाउन नभ्याई कुनै वर्ष त “यो दशैँमा भएन, अब तिहारमा लगाउनुहोला” पनि भन्ने गर्दथे । फेरी फकाउँदै “अर्को बर्षको दशैँमा तपाईँको लुगा सबैभन्दा पहिल्यै सिलाईदिउँला बाबु, तर बुवामम्मीलाई बेलैमा किनेर मलाई दिन भन्नु होला है” भन्ने पनि गर्नुहुन्थ्यो । त्यो बेलामा मन निकै नै अमिलो हुन्थ्यो, तर पनि अर्को वर्षको दशैँमा भने अगाडी नै नयाँ लुगा लगाउन पाउनेछु भनेर आफैँले आफैँलाई सान्त्वना दिई सम्हाल्थेँ । डर लाग्थ्यो कि कोही साथीहरुले देखेर “यसको त दशैँमा नयाँ लुगा नै छैन रहेछ” भनेर गिज्याए भने मेरो हालत के होला । कक्षामा सँधै अब्बल स्थान ग्रहण गर्ने म कतै दशैँमा नयाँ नाना नपाएर बेईज्जत पो हुने हो कि भन्ने डर ती समयमा मनमा सँधै खेल्ने गर्दथे ।
अर्कोतिर मासु दशैँको पर्याय जस्तै हुने गर्दथ्यो । महाअष्टमीका दिन बलि दिए पश्चात् बोकाको कान पोलेर खान पाईने आशामा बिहान ३ बजे देखी उठेर आगो बालेर टीनमा पानी तताउन थाल्दथ्यौँ । काटमार हेर्न मलाई चाँही साह्रै डर लाग्थ्यो । खसी बोका काट्ने बेलामा साहसीहरु भने कोही सिङ समातेर त कोही पछाडीका खुट्टा तानेर अनि कोही रगत थापेर आफ्नो बहादुरीता प्रदर्शन गर्दथे । म भने मार हान्ने बेला भएपछि खै कुन्नी हो कहाँ गएर लुक्ने गर्दथेँ । जे होस् त्यो खसी बोका कराएको आवाज नसुन्नका लागि म आफ्नो कान भन्ने थुन्ने गर्दथेँ । अरुको जिब्रोमा मिठो स्वाद पस्किनका लागि आफ्नो ईच्छा अनि प्रकृतीको नियम विपरित मर्दै गर्दाको प्राणीको चित्कारले त्यसबेला म पीडित हुँदोरहेछु । तर पनि मलाई “त्यो खसी बोकाको कान पोलेर खान भने पाए हुन्थ्यो” भन्ने अभिलाषाले त्यसबेला कारुणिक सँगसँगैको एउटा रौद्र भावनालाई पनि ईङ्गित गरेको रहेछ भन्ने अहिले आएर बुझ्दैछु । हाम्रो दशैँलाई बडादशैँ बनाईदिनका लागि आवाज विहिन कति प्राणीहरुले यो धर्तीमा अरुको हातबाट प्राणको आहुती दिनुपर्ने रहेछ त भन्ने कुरा बल्ल बुझ्दैछु । प्रकृतीको नियम अनुसार जन्मिएको त्यो प्राणीलाई यो प्राणको अस्तित्व रक्षा गर्नका लागि चाह त थियो होला नि !

पिङ्गमा मच्चिनको मज्जा बेग्लै । एउटा साल गाउँमा गएर दशैँ मनाउँदै गर्दा पिङ्गमा मच्चिईरहेको बेलामा खस्न पुग्दा बायाँ हात लामो समयसम्म नचल्ने भएको सम्झना छ । राईफलको तेल खोजेर मम्मीले महिनौँसम्म लगाएर मिचिदिनु भए पछि निको भएको थिएँ । त्यसपश्चात् पिङ्ग खेल्न अनि खेलेको हेर्न भने त्यती रुची जागेन ।

तर दशैँका बेलामा चङ्गा उडाउन अनि बजारमा गएर अरुहरुले लङ्गुरबुर्जा खेलेको हेर्दा पनि खुवै मज्जा आउँथ्यो । धेरै पैसा हुने थिएन । कहिले सुका त कहिले मोहर अनि कहिले एक रुपैयाँ त कहिले दुई रुपैयाँ सम्म । यी भन्दा बढी पैसा महँगा हुने गर्दथे । हामी बच्चाहरुलाई यति पैसा मात्र साथमा भए पनि धनी महसुस गर्ने गर्दथ्यौँ । कहिलेकाँही लङ्गुरबुर्जामा पैसा राख्दा राख्दा आफ्नोमा दाउ नआएपछि गोजीमा भएभरका सबै पैसा सकाएर निन्याउरो मुहार लिएर घर फर्किएको पनि छु । अनि पैसा गुमाउनुको पीडालाई कुन्नी के बहाना बनाई दिदीभाईसँग झगडामा रुपान्तरण गरेर रोई सके पश्चात् शान्त पनि हुँदोरहेछु, त्यो पनि अहिले आएर मात्र महसुस गर्ने गरेको छु । यावत् रुपमा दशैँका दिनहरु घर्किन्थे ।

शत्रुमाथीको विजय भएको दिन अर्थात् विजयादशमी । यो दिन आफ्ना भगवानरुपी मातापिता अनि मान्यजनबाट टीका, जमरा तथा शुभाशिर्वाद ग्रहण गरिन्छ । त्यसबेला पनि गरिन्थ्यो, तर पनि ध्यान भने दक्षिणामा बढी केन्द्रीत हुने गर्दथ्यो । त्यो दक्षिणा जम्मा पारेर आफूलाई बिगत लामो समयदेखी किन्न मन लागेका महँगा कुराहरु किन्नका लागि बकोध्यान जस्तै रहन्थ्यौँ । कोही ठूलाठालुले ठूलो पैसाको दक्षिणा दिँदा मम्मीले “खै ले म राखिदन्छु, फेरी हराउला” भन्दा “पछि कसरी माग्ने होला” भनेर दिनै डर लाग्दथ्यो । र भन्ने गर्दथेँ “म आफैँ राख्छु” । सामान नकिनुन्जेलसम्म पैसा जोगाउनका लागि खुब चनाखो भईन्थ्यो । आफैँमाथी विश्वास नभएर कहिले किताब भित्र पैसा लुकाएर राख्ने गरिन्थ्यो र दिदीभाईले त्यो पैसा चोरिदेलान् कि भनेर भन्दै हिँड्ने गर्दथेँ कि मैले पैसा किताबको बीच पानामा लुकाएर राखेको छैन । कहिले ती दक्षिणालाई जोगाउनका लागि ढुङ्गाको चेपहरुमा पनि राखियो भने कहिलेकाँही त खाल्डो खनेर प्लाष्टिकले बेरेर माटोले पुर्दै बाहिर निशानाहरु पनि छाड्ने गरिन्थ्यो ।

बिजयादशमीका दिनदेखी कोजाग्रत पूणर्िमा सम्ममा टीका लगाएर त्यसबेला बढीमा २०/२२ रुपैयाँ मात्र जम्मा हुने गर्दथे । त्यसबेलाको त्यती दक्षिणाको महत्व अनि औचित्यता अहिलेको लाखौँ रुपैयाँले पनि पुष्ट्याई गर्न सक्छ जस्तो मलाई लाग्दैन ।

बुवा सरकारी जागिरे भएका कारण रसुवा जिल्लाको सदरमुकाम धुञ्चेमा बसेका थियौँ । घर अनि मामाघर भने नुवाकोट जिल्लामा थियो । दशैँमा मान्यजनबाट टीका आशिर्वाद ग्रहणका लागि घर अनि मामाघर जाने गर्दथ्यौँ । घर र मामाघर जम्मा १० मिनेटको दुरीमा थियो भने जहाँ बसेका थियौँ त्यहाँबाट दशैँमा घर अनि मामाघर जानका लागि टाढा पर्दथ्यो करिब एक दिन ।
त्यही दशैँका बेलामा अनि विशेष गरी हिँउदे बिदा र बर्षेबिदामा हामी गाउँको घर र मामाघर जाने गर्दथ्यौँ । त्यही बेलामा मोटर बस चढ्न पाईन्थ्यो । मोटरबस चढ्नका लागि पनि कयौँ महिना प्रतिक्षा गर्नु पर्दथ्यो । धेरै जसो समय त डाँडाहरुमा बस कुदेको हेरेर पनि एक किसिमको आनन्द लिने गर्दथ्यौँ । लामोदुरीमा मोटरबस चढ्न पाउनुको मज्जा पनि बेग्लै हुन्थ्यो । आनन्द लाग्थ्यो, आफैँ कुद्ने मोटरबसमा चढेर यात्रा गर्न पाएकोमा अनौठो किसिमको गर्व लाग्दथ्यो । अझ बसका चालकलाई देखे पश्चात् ठूलो भएर म पनि ड्राईभर बन्छु भन्ने विचारहरु मनमा आउँथे ।

धुञ्चेदेखी बसबाट यात्रारम्भ गरे पश्चात् बेत्रावती भन्ने स्थानमा झरेर नुवाकोट जिल्ला र रसुवा जिल्लाको सीमानामा पर्ने अर्चले भन्ने स्थानमा रहेको घर अनि मामाघर पुग्न झण्डै २ घण्टा पैदल हिँड्नु पर्थ्यो, त्रिशुली नदीको किनारै किनार । मामाघर पुग्ने आशामा कत्ति पनि थाकिँदैनथ्यो । अझ दशैँको बेलामा त हिँडेरै धुञ्चे देखी नुवाकोटसम्म जानु पर्दथ्यो किनकी विजयादशमीका दिन सवारीसाधन खासै चल्दैनथ्यो त्यसबेला । मामाघरमा पुग्दा “भाञ्जाभाञ्जी आउनुभयो” भनेर छुट्टै किसिमको स्वागत् सत्कार हुन्थ्यो । “नाती” भन्दै सँधैभरी मलाई माया गर्ने आदरणीय हजुरआमा, ९० सालको भूईँचालोमा परेर कान नसुन्ने हुनुभएका आदरणीय हजुरबुवा, काँधमा बोकेर मेरो भाञ्जा भन्दै मलाई गाँउभरी डुलाउने मेरा आदरणीय मामा अनि मिठो मिठो पकाएर खुवाउने प्यारी माईजुको माया अनि ममता पाउनका लागि झण्डै वर्षभरी तड्पिएका हामी दिदीभाईहरुभित्र संसार विजयी भएको अनुभूत गर्दथ्यौँ मामाघर जान पाउँदा मात्र । घरमा पनि त्यत्तिकै माया ममता । घरका हजुरबुवा हजुरआमा अनि काकाकाकीहरुले पनि उत्तिकै माया गर्नुहुन्थ्यो । घरमा, मामाघरमा विभिन्न ठाउँबाट टीका लगाउनका लागि भेलाजम्मा भएका काकाकाकी, दिदीभाई लगायतका सबै आफन्तजनको उपस्थितीले साँच्चै गाउँमा दशैँ आएको आभाष हुन्थ्यो । ती क्षणहरु अहिले भने मेरा मानसपटलमा मात्र सीमित रहेका छन् ।

जसरी विजयादशमीसँगै एकादशी, द्वादसी, त्रयोदशी, चतुर्दशी हुँदै कोजाग्रत पूणर्िमाको दिन आउँथ्यो, तब दशैँ त सकिई हालेछ नि भनेर मनमा एउटा नैरश्यता पनि छाउँथ्यो । तै पनि यमपञ्चक आउनेवाला हुन्थ्यो र तिहारको पर्खाईमा फेरी खुट्टाहरु उफ्रिँदै आफ्ना दिदी, भाई अनि सहउमेरका साथीहरुमाझ रम्न पुग्थे । समूहमा रमाउँथ्यौँ । बालमस्तिष्कमा सिर्जित विचारहरु अनि अनुभवहरु साथीहरुसँग आफ्नो शैलीमा साझेदार गर्दै दशैँको समिक्षा गर्नुको मज्जा बेग्लै हुने गर्थ्यो ।
यसरी यावत् तरिकाले दशैँ मनाउने गरिन्थ्यो । अहिले म याद गर्ने गर्छु म, मेरो दिदी अनि भाईले नयाँ नाना लगाउँदा कुनै वर्ष त मेरो मम्मीलाई पनि ब्लाउज र धोती किनिदिने गर्नहुन्थ्यो बाले । तर मेरो बा भने सँधै उहि पुरानो लुगामा सजिनु हुन्थ्यो । कहिलेकाँही उहाँले पनि नयाँ लुगा किन्ने गर्नुहुन्थ्यो, तर त्यो हुन्थ्यो ढाकाटोपी । उहाँलाई पहिलेदेखी नै ढाकाटोपी लगाईरहन मन पर्थ्यो रे । सरकारी कर्मचारीको तलबले नपुग्ने, दशैँमा घरमा चिचि पकाउनका लागि, जहान अनि छोराछोरीलाई नयाँ नाना किनिदिनका लागि कति दुःख गरेर अपुग पैसाको जोहो गर्नुहुन्थ्यो, त्यो पनि आंशिक ऋणका रुपमा । दशैँमा आउने भत्ताले कति ठाउँ टार्नुपर्ने हुन्थ्यो । खाईनखाई छोराहरुलाई बोर्डिङ्ग स्कूलमा पढाउने धोकोका कारण दशैँमा पनि बाध्यतामा परेर प्रायः ऋण लिने गर्नुहुन्थ्यो । त्यो ऋण तिर्नका लागि कयौँपटक भाखाहरु सारेको पनि मेरो बालमस्तिष्कमा कैद छ, ढिलो भए पनि इमान्दारीपूर्वक अर्काको सहयोगलाई फिर्ता गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो । माघ फाल्गुणसम्म लगाएर बुवाले ती ऋणहरु तिरिरहनु हुन्थ्यो । परिवारको खुसी अनि छोराछोरीको शिक्षादीक्षामा उहाँले सदैव आफूलाई समर्पित गराउँदै आउनुभयो ।

कहिल्यै आफ्नो लागि नयाँ नाना नकिनेको देखे पछि एउटा वर्ष दशैँताका हिम्मत गरेर म लजालु छोराले सोधेँ उहाँलाई “बा तपाईलाई चाँही नयाँ लुगा किन्नु पर्दैन, बरु म यसपाली पुरानै लुगा लगाउँछु, तर तपाई भने नयाँ लुगा सिलाउनु न” । यति मात्र के भनेको थिएँ मेरो बा त भक्कानिनु भएछ, बेजोडसँग । मैले छोरा मान्छे रुँदैनन् भन्ने सुनेको थिएँ, मेरा बा पनि छोरा मान्छे हुनुहुन्थ्यो, नरुनु पर्ने । मनमा जिज्ञाशा शुरु भयो । अनि फेरी हेरेँ बाको अनुहार । बाले रुञ्चे श्वरमा भन्नु भयो “तिमिहरु खुसी भए मलाई त्यही त हो मेरो दशैँ” । छ्या, हाम्रो बा रोएको त कस्तो नसुहाएको, बरु मम्मी रोएको राम्रो देखिन्छ । मेरा मनमा विचारहरु उब्जिए ।

त्यसअघि मैले मेरो बालाई कहिल्यै कमजोर देखिन । जब म मेरो बासँग हुन्थेँ तब मलाई लाग्दथ्यो, यो संसारमा मलाई कसैले हराउन सक्दैन, किनकी परिआउँदा मेरो रक्षा गर्ने मेरो बा साथमा हुनुहुन्छ । विजयादशमीका दिन सवारीसाधन कम चल्ने गर्दथ्यो । अनि बिजयादशमीकै दिन आफ्ना भगवानरुपी बाबुआमाको हातबाट टीका लगाउनु पर्छ भनेर रसुवाको सदरमुकाम धुञ्चेदेखी नुवाकोट जिल्लाको साविक मनकामना गाविस – वडा नं. ८ अर्चले भन्ने स्थानसम्म बाको काँधमा बसेर घोप्टेभिरमा त्यो मध्यरातमा ब्याट्रीवाला टर्चको सहायताले हिँडेको अनुभव मैले मेरो बासँग गरेको छु ।

कुनामा कुलो, छङ्गछङ्ग धुन निकाल्दै त्यो कुलामा पानी बगिरहेको थियो, अनि यहि आवाजमा जुनकिरीले पस्किरहेको थियो किरिरिरिको धुन । चारैतिर यतिमात्र गुञ्जिरहेको थियो, कहिलेकाँही तल त्रिशुली नदी सुसाएको पनि सुनिन्थ्यो । पहाडको अफ्ट्यारो गोरेटो बाटोमा हिँड्दै गर्दा चन्द्रमाको हल्का प्रकाशले पनि साथ दिई नै रहेको थियो । भिरालो अनि डरलाग्दो पहाड, साँघुरो बाटो, एउटा खुट्टा फुस्किएमा मात्र पनि झण्डै तीन सय मिटर तल त्रिशुली नदीमा पुग्ने भिरालो स्थानमा हिँड्दै गर्दा बाको काँधमा कपाल समातेर निर्धक्कका साथ बसिरहँदा मलाई के लाग्थ्यो भने यदि बा को खुट्टा चिप्लिएर लड्न लागेमा म उहाँलाई यो कपाल समातेरै भए पनि जोगाउँछु, अहिले मेरो बा कमजोर हुनुहुन्छ, उहाँलाई मैले रक्षा गरिरहेको छु । मेरो बाल चेतना ।

अहिले त्यसस्थानमा नेपाल चीन जोड्ने राजमार्ग निर्माण भईरहेको छ, करिब करिब अन्तिम चरणमा पुगेको छ । दुई लेनको उक्त पिचबाटोमा एक्लै मोटरसाईकलमा यात्रा गर्दा मलाई त्यो बाटोमा दिउँसोको समयमा अहिले पनि डर त लाग्छ भने त्यतिखेर बाटोघाटो नभएको बेलामा पनि घाँसमा समाउँदै, झुण्डिएर, रातको समयमा घोप्टेभिरमा हिँड्दै आफ्नो सन्तान्लाई सुरक्षित साथ गन्तव्यमा पुर्याउने अदम्य साहस एउटा पितासँग मात्र हुन्छ । मैले मेरो बालाई कहिल्यै थाकेको देखिन, कहिल्यै गलेको देखिन । परिवार अनि सन्तान्का लागि परि आएमा सिंगो पहाड उचालेर हिँड्न सक्ने अदम्य साहस भएको एउटा नायकका रुपमा मात्र देखेँ । बास्तवमा मेरा बा मेरा लागि नायक नै हुनुहुन्थ्यो । असल पिता हरेक सन्ततीका लागि नायक नै हुने गर्दछन्, मात्र आफ्ना अभिभावक अनि उनीहरुको त्याग र समर्पणभावलाई मनन् गर्न सक्ने सन्तान हुन जरुरी हुन्छ ।

त्यो बेलामा हामीसँग पर्याप्त पैसा थिएन, हो अहिलेको जस्तो विकास पनि थिएन त्यसबेलामा । हात हातमा मोबाईल फोन थिएन । हप्तौँ कुरेर पिसिओ बुथमा पुगि लाईन बसेर ल्याण्डलाईनबाट आफन्तजन अनि काम परेकाहरुसँग फोन गरेको अनुभव हामीले गरेका छौँ ।

पैसाको अभाव, नजिकै आधुनिक बजारको अभाव, सवारीसाधनको अभाव, सूचना तथा सञ्चार प्रविधिको अभाव, यस्ता विभिन्न हजारौँ लाखौँ अभावहरु पक्कै थिए । ती कुराहरुको पूर्ती अहिले भईरहेको होला । तर पनि त्यो बेलाको दशैँ र अहिलेको दशैँ ।

भगवानसँग मागेर पाउने भए म फेरी अनुरोध गर्ने थिएँ कि मलाई त्यो बालापनको दशैँ फर्काईदेउ न भनेर । जहाँ जिम्मेवारी थिएन, जहाँ मैले निभाउनु पर्ने कर्तव्यको बोझ थिएन । थियो त केवल हर्ष, उत्साह, उमङ्ग अनि उल्लासमय वातावरण । पारिवारिक भेटघाट, आफन्तजनसँगको न्यानोपनको स्पर्श, स्मृती साटासाट, भावनात्मक सम्बन्धमा मजबुती, ठाउँठाउँमा हुने गरेका नाचगान, कौडा खाल, निधारभरी टीका र जमरा, आकाशमा उडिरहेका चङ्गाहरु, पालो कुरेर चाम्लिङ् फोटो स्टूडियोमा खिचेका फोटाहरु प्रत्येक वर्ष यी अनि यस्ता कुराहरुलाई कुरेर दशैँलाई स्वागत गर्न पाउँदाको उमङ्ग अलग्गै हुन्थ्यो ।

कयौँ समय पर्खिए पछि आएको दशैँले ल्याएको बहार र खुसीहरुलाई शब्दमा अभिव्यक्त गर्न निश्चय नै गाह्रो हुन्छ । यस्ता यावत् अनि अनगिन्ती सम्झनाहरु मेरो मानसपटलमा ताजै छ । अहिलेको यस क्षणमा सम्पूणर् कुराहरु पस्किनका लागि पक्कै पनि कठीन छ । समयको पावन्दीलाई मध्यनजर गर्दै अहिलेलाई मैले मेरा दशैँकालिन अनुभवहरुमा यहिँ बिट मार्छु । सम्पूणर्जनमा बडादशैँको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।

सम्बन्धित खबर

1 Comments

  • निकै नै रमाईलो लेख । बाल्यकालको स्मरण दिलाएको छ । आगामी पुस्ताका लागि यो एउटा ईतिहास पनि हुन सक्छ तर हामिले भोगेको देखेको अनुभव गरेको यो क्षण सम्झदा निकै भावुक पनि भईयो ।
    धन्यवाद सर हजुरलाई यो लेख रचनाका लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *