- अशोज ९, २०८१
- No Comment
- 39
पाँच वर्षपछि धुर्मुस अभिनय यात्रामा फर्किए
हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लामो समयपछि फिल्म अभिनयमा फर्किएका छन् । उनले हास्य सिरियल ‘सक्किगोनि’ टिमको फिल्म ‘लाज शरणम्’ मा अभिनय गरेका हुन् । २०७६ सालमा रिलिज ‘सेन्टिभाइरस’ पछि धुर्मुसले कुनै फिल्ममा पनि अभिनय गरेका थिएनन् । उनी ‘लाज शरणम्’ को आफ्नो केही भागको छायांकन सकेर डोल्पाबाट काठमाडौं फर्किएका छन् । धुर्मुसले फिल्ममा आफ्नो अभिनय रहेको जानकारी दिँदै धेरैपछि सेटमा फर्किदा एकदमै खुसी लागेको बताए । फिल्मलाई कुमार कट्टेलले (जिग्री) निर्देशन गरिरहेका छन् । यसमा सक्किगोनि टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), हरिश निरौला (कक्रोज) कमलमणि नेपाल, बबिन राई (गल्फने बाजे) र प्रियना आचार्य (मुन्नी) को अभिनय रहनेछ । साथमा माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल, देशभक्त खनालको पनि अभिनय रहनेछ । फिल्म आगामी महाशिवरात्रीको अवसरमा फागुन १४ गतेबाट प्रदर्शनमा आउनेछ ।