- बैशाख २५, २०८३
- No Comment
- 1
भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेको ज्यादती बन्द गर्न सरकारसँग आग्रह गरेका छन्।
वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतंकित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन्। उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुम्बासी व्यवस्थापनको नाममा नागरिक उकुसमुकुसको अवस्थामा पुगेको टिप्पणी गरे।
मुख्यमन्त्री कँडेलले वास्तविक अवस्था अध्ययन नगरी सुकुम्बासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको बताए। “लोकतन्त्रमा जनताको आवाज दबाउने प्रयास हुनु हुँदैन,” उनले भने, “जनताले सुरक्षित महसुस गर्नुपर्ने हो, तर अहिले उनीहरू भय र अन्योलमा छन्।”
उनले भूमिहीन तथा सुकुम्बासीको समस्या क्रमशः समाधान हुने प्रकृतिको भएकाले दीर्घकालीन र व्यवहारिक समाधान खोज्नुपर्ने धारणा राखे।
मुख्यमन्त्री कँडेलले सरकारी जग्गा संरक्षण अभियान अघि बढाउँदा मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै उनले आगामी बजेटमा यसअघि प्रदेश सरकारले संघीय सरकारसमक्ष राख्दै आएका योजना र प्राथमिकतालाई समेट्न आग्रह गरे।



