- बैशाख ११, २०८३
- No Comment
- 13
सुर्खेतमा शृङ्खलाबद्ध चोरी गर्ने ‘हाइप्रोफाइल’ चोर पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न स्थानमा चोरी गर्दै आतङ्क मच्चाउँदै आएका एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालस्थित एक घरमा भएको चोरीको अनुसन्धानका क्रममा प्रहरीले चोरीका सामानसहित ५० वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वैशाख १ गते राति करिब ११ बजे हरिकला शाहीको घरमा कोही नभएको मौका छोपी चोरी भएको थियो। सोही घटनामा संलग्न रहेको आशङ्कामा लेकवेशी नगरपालिका–१ बस्ने हरि नारायण कार्कीलाई पक्राउ गरिएको हो।
कार्कीको घरमा गरिएको खानतलासीका क्रममा चोरी भएका सामानसहित अन्य थुप्रै शङ्कास्पद वस्तुहरू बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामग्रीहरूमा रु. ३६ हजार ९७ नगद र १२३ थान सिक्का, सुनजस्ता देखिने विभिन्न गहनाहरू, चाँदीका सामग्री, २ थान ल्यापटप, ५ थान मोबाइल, २ थान सीसी क्यामेरा, एक थान टेलिभिजन, ६ थान घडी, २ थान मिक्सर र एक थान गितार रहेका छन्।
प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूको प्रकृति हेर्दा कार्की लामो समयदेखि शृङ्खलाबद्ध रूपमा चोरीमा संलग्न रहेको आशङ्का गरिएको छ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। साथै, बरामद गरिएका सामानमध्ये आफ्नो हराएको सामग्री परेको भए प्रमाणसहित सम्पर्क गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।



