- बैशाख १०, २०८३
- No Comment
- 10
गृहमन्त्रीकाे राजीनामापछि बसेकाे पहिलाे मन्त्रिपरिषद्ले गर्याे ३ निर्णय

काठमाडौँ — सिंहदरबार मा बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार तीन महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन परियोजनाका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सम्झौतालाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा उक्त वार्ता टोली गठन गरिनेछ।
त्यसैगरी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान को महाराजगञ्जस्थित ११४–३–०–० क्षेत्रफलको जग्गा राष्ट्रपतिको नाममा हस्तान्तरण गर्ने पूर्वनिर्णय संशोधन गरिएको छ। संशोधित निर्णयअनुसार उक्त जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहनेछ।
यस्तै, सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीको अध्ययन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ। सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा उक्त कार्यदलले समग्र प्रणालीको मूल्याङ्कन गर्नेछ।
सरकारका यी निर्णयहरूलाई प्रशासनिक सुधार, पूर्वाधार विकास तथा प्रविधि व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।



