- बैशाख ६, २०८३
- No Comment
- 4
सुकुमबासी व्यवस्थापन र बढ्दो महँगीलाई लिएर नेकपाद्वारा सरकारको कडा आलोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले उचित विकल्पविना सुकुमबासी बस्तीमाथि डोजर चलाएर सरकारले अमानवीय कार्य गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय कार्यालयमार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले सुकुमबासी परिवारको जीविकोपार्जनको ग्यारेन्टी नगरी जबर्जस्ती उठीबास लगाउँदा सीमान्तकृत समुदायको राज्यप्रतिको भरोसा टुट्दै गएको टिप्पणी गरेको छ । सरकारले सामाजिक न्यायको मर्म विपरीत गरिब र भूमिहीनमाथि प्रहार गरेको नेकपाको आरोप छ ।
पार्टीले पछिल्लो समय बजारमा व्याप्त महँगी र कालोबजारीप्रति पनि सरकारको उदासीनतामाथि प्रश्न उठाएको छ । ताजा जनादेशबाट गठन भएको सरकारले जनअपेक्षा अनुसार सुशासन र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नुपर्नेमा उल्टै जनतामाथि आर्थिक भार थपेको नेकपाको जिकिर छ । नयाँ सरकार आएपछि बजार अनुगमन फितलो हुँदा सर्वसाधारणको भान्सा महँगो भएको भन्दै पार्टीले तत्काल कालोबजारी नियन्त्रण गरी मूल्यवृद्धि रोक्न माग गरेको छ ।
यसैगरी, लोकतान्त्रिक अधिकारको रक्षाको प्रश्नमा पनि नेकपाले सरकारलाई सचेत गराएको छ । विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने सरकारी तयारीलाई पार्टीले संविधानविरोधी कदमको संज्ञा दिएको छ । पञ्चायतकाल जस्तो निरङ्कुश व्यवस्थामा समेत नागरिकलाई संगठित हुने अधिकार रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्ता गतिविधि किमार्थ स्वीकार्य नहुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
सरकारका सकारात्मक प्रतिबद्धताहरूको स्वागत गर्ने नीति रहे पनि पूर्वाग्रही ढंगले चालिने कदमहरूको भने निरन्तर विरोध गर्ने नेकपाले स्पष्ट पारेको छ । सरकारलाई सस्तो लोकप्रियताका लागि ‘स्टन्टबाजी’ गर्न छाडेर किसान, मजदुर र सुकुमबासीका वास्तविक समस्या समाधानमा केन्द्रित हुन र थप लोकतान्त्रिक बन्न पार्टीले आग्रह गरेको छ ।



