• चैत्र २७, २०८२
  • No Comment
  • 4

लोक सेवाको नियमित कार्यतालिका र सुशासनको माग गर्दै सुर्खेतमा ज्ञापनपत्र बुझाउदै युवाहरू

लोक सेवा आयोगको नियमित विज्ञापन र नतिजा प्रकाशनमा ढिलाइ भएको, तथा सार्वजनिक प्रशासनमा राजनीतिकरण र नातावाद बढेको भन्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लोक सेवा तयारी गरिरहेका विद्यार्थी तथा सचेत नागरिक समाजले मुख्यमन्त्री कार्यालय, प्रदेश लोक सेवा आयोग र जिल्ला प्रशासन कार्यालय सुर्खेतको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई एक ज्ञापनपत्र बुझाउँदै संविधान र कानुनले व्यवस्था गरेका अधिकारहरूको पूर्ण कार्यान्वयन तथा सुशासनको माग गरेका हुन् ।

ज्ञापनपत्रमा मुख्यगरी ८ वटा विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । लोक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका अनुसार समयमै विज्ञापन प्रकाशन नगर्दा हजारौं विद्यार्थीको समान अवसरको संवैधानिक अधिकार हनन् भएको र राज्यप्रतिको विश्वास घटेको बताइएको छ । त्यस्तै, परीक्षा सम्पन्न भइसकेपछि पनि लामो समयसम्म नतिजा प्रकाशन नहुँदा विद्यार्थीहरूमा मानसिक र आर्थिक तनाव बढेको भन्दै स्पष्ट समयसीमा तोकेर तत्काल नतिजा सार्वजनिक गर्न माग गरिएको छ । निजामती सेवा ऐनको मर्म विपरीत स्थायी पदपूर्ति गर्नुको सट्टा ‘करार सेवा’का नाममा कर्मचारी भर्ना गर्ने प्रवृत्तिले पारदर्शीता, प्रतिस्पर्धा र प्रशासनिक गुणस्तरलाई कमजोर बनाएको पत्रमा उल्लेख छ ।

यसैगरी, स्थानीय तह तथा निकायहरूमा राजनीतिक पहुँच र नातावादका आधारमा हुने नियुक्तिले सुशासन ऐनको धज्जी उडाएको विद्यार्थीहरूको ठहर छ । स्वदेशमै अवसर नपाउँदा र प्रशासनिक ढिलासुस्तीका कारण युवा वर्ग विदेश पलायन हुन बाध्य भएको भन्दै समयमै पदपूर्ति गरी युवालाई देशमै टिकाउने नीतिगत पहल गर्न आग्रह गरिएको छ । साथै, ज्ञापनपत्रमा लोक सेवा आयोगको साख गिर्दै गएकोप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ । विशेषगरी सुर्खेतलगायतका स्थानमा लोक सेवा तथा अन्य सार्वजनिक कार्यालयमै कार्यरत स्थायी कर्मचारीहरूले विभिन्न प्राइभेट इन्स्टिच्युटहरूमा पढाउने गरेको र यसले परीक्षाको गोपनीयता र निष्पक्षतामाथि प्रश्न उठेको भन्दै यस्तो कार्यलाई तत्काल नियमन गर्न जोरदार माग गरिएको छ ।

“आजको युवा केवल रोजगारीको खोजीमा छैन, ऊ संविधानले दिएको अधिकारको कार्यान्वयन खोजिरहेको छ,” ज्ञापनपत्रको अन्त्यमा भनिएको छ । धर्मराज जैसी, दिपक खत्री, विक्रम शाही, नविन सिंह लगायत २८ जना भन्दा बढी विद्यार्थी तथा नागरिक अगुवाहरूले हस्ताक्षर गरेको उक्त पत्रमा यथाशीघ्र ठोस निर्णय र स्पष्ट कार्ययोजनासहित आफ्ना मागहरू कार्यान्वयन नभए शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट थप आन्दोलनका कार्यक्रम अघि बढाउन चेतावनी समेत दिइएको छ ।

सम्बन्धित खबर

१५ वर्षसम्म खानी ओगटेको भन्दै चौकुने गाउँपालिकाद्वारा मुक्तिश्रीसँगको सम्झौता रद्द गर्न पत्राचार

१५ वर्षसम्म खानी ओगटेको भन्दै चौकुने गाउँपालिकाद्वारा मुक्तिश्रीसँगको सम्झौता…

सुर्खेतको चौकुने गाउँपालिकाले डेढ दशकदेखि अनुमति पत्र लिएर पनि उद्योग सञ्चालन नगर्ने मुक्तिश्री प्रा.लि. सँगको सम्झौता रद्द गर्न माग गरेको छ।…
‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं — वैदेशिक रोजगार विभागले ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन साइबर सेन्टर तथा तालिम केन्द्रहरूलाई निर्देशन दिएको छ। विभागले चैत…
‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन विभागको निर्देशन  काठमाडौं — वैदेशिक रोजगार विभागले ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन साइबर सेन्टर तथा तालिम केन्द्रहरूलाई निर्देशन दिएको छ। विभागले चैत ३० गतेभित्र यस्ता सूचना हटाइसक्न स्पष्ट रूपमा भनेको छ।  विभागका अनुसार, विभाग आसपास सञ्चालनमा रहेका केही साइबर तथा इन्स्टिच्युटहरूले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता सन्देशमार्फत सेवाग्राहीलाई भ्रममा पारिरहेका छन्। यस्ता सूचना र प्रचारप्रसारले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई गलत जानकारी पुग्ने जोखिम रहेको विभागको भनाइ छ।  विभागले श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्रै हुने स्पष्ट पारेको छ। यसबाहेक अन्य निकाय वा संस्थाबाट यस्तो सेवा प्रदान गरिन्छ भन्ने दाबी भ्रामक हुने विभागले जनाएको छ।  यस सम्बन्धमा विभागले सूचना जारी गर्दै भ्रम सिर्जना गर्ने खालका लेखन, विज्ञापन तथा प्रचारप्रसार तुरुन्त बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।  निर्देशनको उल्लङ्घन गरेमा वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन विभागको निर्देशन काठमाडौं —…

काठमाडौं — वैदेशिक रोजगार विभागले ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन साइबर सेन्टर तथा तालिम केन्द्रहरूलाई निर्देशन दिएको छ। विभागले चैत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *