- चैत्र २७, २०८२
- No Comment
- 5
‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं — वैदेशिक रोजगार विभागले ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन साइबर सेन्टर तथा तालिम केन्द्रहरूलाई निर्देशन दिएको छ। विभागले चैत ३० गतेभित्र यस्ता सूचना हटाइसक्न स्पष्ट रूपमा भनेको छ।
विभागका अनुसार, विभाग आसपास सञ्चालनमा रहेका केही साइबर तथा इन्स्टिच्युटहरूले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता सन्देशमार्फत सेवाग्राहीलाई भ्रममा पारिरहेका छन्। यस्ता सूचना र प्रचारप्रसारले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई गलत जानकारी पुग्ने जोखिम रहेको विभागको भनाइ छ।
विभागले श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्रै हुने स्पष्ट पारेको छ। यसबाहेक अन्य निकाय वा संस्थाबाट यस्तो सेवा प्रदान गरिन्छ भन्ने दाबी भ्रामक हुने विभागले जनाएको छ।
यस सम्बन्धमा विभागले सूचना जारी गर्दै भ्रम सिर्जना गर्ने खालका लेखन, विज्ञापन तथा प्रचारप्रसार तुरुन्त बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
निर्देशनको उल्लङ्घन गरेमा वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।



