- चैत्र २७, २०८२
- No Comment
- 3
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्

काठमाडौँ — अङ्गुर प्रायः वर्षभरि बजारमा पाइने लोकप्रिय फल हो। कालो, रातो र हरियो विभिन्न रङमा उपलब्ध अङ्गुर स्वादिष्ट मात्र होइन, स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। सबै उमेर समूहका मानिसले रुचाउने यस फलमा शरीरलाई आवश्यक पोषक तत्व पाइन्छ।
तर, अङ्गुरको व्यावसायिक खेतीमा व्यापक रूपमा किटनाशक (विषादी) प्रयोग गरिने भएकाले यसलाई सिधै पानीले मात्रै धोएर खानु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्छ। सामान्य पानीले धोएर मात्र अङ्गुरमा रहेको विषादी पूर्ण रूपमा हट्दैन। त्यसैले अङ्गुर सेवन गर्नुअघि राम्रोसँग सफा गर्नु अत्यन्त जरुरी हुन्छ।
विशेषज्ञहरूका अनुसार, सही तरिकाले सफा गरेमा विषादीको असरबाट बच्न सकिन्छ। अङ्गुर सफा गर्ने केही प्रभावकारी उपायहरू यसप्रकार छन्:
१. भिनेगर प्रयोग गर्ने तरिका
एउटा ठूलो भाँडामा अङ्गुर राखेर पानी हाल्नुहोस्। त्यसपछि २ चम्चा डिस्टिल्ड भिनेगर वा एप्पल साइडर भिनेगर मिसाउनुहोस्। अङ्गुरलाई यो घोलमा हल्का चलाउँदै करिब १० मिनेटसम्म भिजाएर राख्नुहोस्। त्यसपछि पानी फ्याँकेर चिसो सफा पानीले राम्ररी धुनुहोस्। यसरी सफा गरिएको अङ्गुर सुरक्षित रूपमा खान सकिन्छ।
२. नुन र बेकिङ सोडा प्रयोग गर्ने तरिका
एउटा कचौरामा पानी भरेर त्यसमा २ चम्चा समुद्री नुन र २ चम्चा बेकिङ सोडा मिसाउनुहोस्। यी सामग्री पूर्ण रूपमा घुलिसकेपछि अङ्गुरलाई उक्त घोलमा डुबाएर करिब ५ मिनेटसम्म राख्नुहोस्। त्यसपछि घोल फ्याँकेर सफा पानीले राम्ररी पखाल्नुहोस्।
स्वास्थ्य सुरक्षित राख्न सधैँ अङ्गुरलाई राम्रोसँग सफा गरेर मात्र सेवन गर्न सुझाव दिइएको छ।


