• चैत्र २०, २०८२
  • No Comment
  • 2

रास्वपा कर्णाली प्रदेश सहमहामन्त्रीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सुर्खेत को चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिमा १२ लाखभन्दा बढी रकम हिनामिना भएको आरोप लगाइएको छ।

मुद्दामा समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारीसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको अवधिमा मिलेमतोमा समितिको रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार प्रतिवादीहरूले समितिको निर्णय र बिल–भरपाई बिना रकम खर्च गरेको, सडक निर्माणका नाममा कार्ययोजना बिना नक्कली कागजात तयार गरी भुक्तानी लिएको, लेखापरीक्षण नगरी शुल्क भुक्तानी देखाएको तथा काठ बिक्रीबाट आएको रकम समितिको खातामा जम्मा नगरेको पाइएको छ।

यस्तै नर्सरी व्यवस्थापन, वन मुद्दा सम्बन्धी अधिवक्ता शुल्क र साक्षी खर्चका नाममा प्रमाण बिना रकम खर्च गरिएको आरोप पनि लगाइएको छ। अध्यक्षले व्यक्तिगत प्रयोजन—बसाइँसराइ तथा जरिवाना तिर्न—समितिको रकम प्रयोग गरेको समेत अख्तियारले उल्लेख गरेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपाने का अनुसार पाँचै जनाले मिलेमतोमा १२ लाख १८ हजार ५१२ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

विज्ञप्तिअनुसार बिना बिल–भरपाई ५ लाख १७ हजार ५०० रुपैयाँ खर्च देखाइएको, वन मुद्दाका नाममा अधिवक्तालाई ३ लाख रुपैयाँ भुक्तानी गरिएको तथा साक्षी र मुद्दा खर्च शीर्षकमा २ लाख ८५ हजार रुपैयाँ खर्च गरिएको पाइएको छ।

यसका साथै अध्यक्षले व्यक्तिगत प्रयोजनका लागि ४१ हजार १६२ रुपैयाँ लिएको, जरिवाना तिर्न ५१ हजार ४८५ रुपैयाँ प्रयोग गरेको तथा विभिन्न सामग्री खरिदमा कानुनअनुसार बिल संलग्न नगरी २३ हजार ३६५ रुपैयाँ भुक्तानी गरिएको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्यलाई निरन्तरता दिइने जनाएको छ।

सम्बन्धित खबर

बराहतालमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

बराहतालमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

सुर्खेत । बराहताल गाउँपालिका–बड्डीचौरमा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा स्वास्थ्य…
“स्वस्थ शरीर र सभ्य समाज”भन्ने मुल नारासहित चौकुने ६ झकमकेमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुने

“स्वस्थ शरीर र सभ्य समाज”भन्ने मुल नारासहित चौकुने ६…

सुर्खेत। ​ “स्वस्थ शरीर र सभ्य समाज” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८३ सालको शुभअवसरमा दोभान असल शासन युवा क्लबले…
सहमतिपछि सुर्खेत बसपार्कबाट सार्वजनिक सवारी पुनः सञ्चालन

सहमतिपछि सुर्खेत बसपार्कबाट सार्वजनिक सवारी पुनः सञ्चालन

सुर्खेत । सुर्खेत बसपार्कबाट अवरुद्ध भएको सार्वजनिक यातायात सेवा पुनः सञ्चालनमा आएको छ। यातायात व्यवसायी र प्रशासनबीच सहमति भएपछि बन्द गरिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *