- चैत्र २०, २०८२
- No Comment
- 9
चौकुने गाउँपालिकामा बिपद व्यवस्थापन समितिको बैठक सम्पन्न
सुर्खेत। चौकुने गाउँपालिकामा बिपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। बैठकमा सम्भावित प्राकृतिक तथा मानवीय बिपद न्यूनीकरण, पूर्वतयारी तथा उद्धार व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
बैठकमा ईलाका प्रहरी कार्यालय गुटुका प्रहरी नायब निरीक्षक बुद्ध सागर चौधरी, सशस्त्र प्रहरीबल सुरक्षा बेस गुटुका कार्यलय प्रमुख कुलदिप शाह, सोसेक नेपाल चौकुनेका कार्यक्रम अधिकृत अर्जुन शाही, चौकुने रेडक्रस सभापति चेतन बि.सी, वडा नं. ६ का वडा अध्यक्ष गोबिन्द थापा, चौकुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि.क., तथा बिपद व्यवस्थापन शाखा प्रमुख पदमराज शर्मा ,स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेय लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै बिपद व्यवस्थापन शाखा प्रमुख पदमराज शर्माले बिपद आउनु अगावै आवश्यक तयारी गर्न सके ठूलो क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो। उहाँले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला सबै पक्षबीच समन्वय अत्यन्त आवश्यक रहेको धारणा राख्नुभयो। त्यस्तै, सशस्त्र प्रहरी वेस नेपाल गुटुका प्रमुख कुलदिप शाहले बिपदका बेला सशस्त्र प्रहरीले उद्धार तथा राहत कार्यमा सधैं तत्पर रहेको उल्लेख गर्दै स्थानीय स्तरमै पूर्वतयारी बलियो बनाउनुपर्ने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि.क.ले बिपद व्यवस्थापनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा काम अगाडि बढाइने जानकारी दिनुभयो।
चौकुने गाउँपालिकामा बिपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गरिएको छ। बिपद् व्यवस्थापन समितिको बैठकले चौकुने गाउँपालिका भित्रकाका वडा नं. १ देखि १० सम्मका सबै वडामा आवश्यक संरचना सुदृढ गर्ने निर्णय गरेको छ । बैठकले पहिले गठन भएका तर निष्क्रिय रहेका बिपद् व्यवस्थापन समितिहरूलाई पुनः सक्रिय बनाउने तथा हालसम्म समिति गठन नभएका वडाहरूमा नयाँ समिति गठन गर्ने निर्णय गरेको छ।
उक्त कार्य चौकुने नेपाल रेडक्रस सोसाइटी उप- शाखको समन्वयमा ईप्रका गुटु ,सशस्त्र प्रहरीबल नेपाल गुटु ,संचारकर्मी र बिभिन्न संघ संस्थासँग सहकार्यगरी अगाडि बढाइने जनाइएको छ। स्थानीय तहमा बिपद् पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई छिटो, प्रभावकारी र व्यवस्थित बनाउन यो निर्णय गरिएको सम्बन्धित पक्षले बताएका छन्। यसबाट समुदायस्तरमै बिपद् व्यवस्थापन प्रणाली मजबुत हुने अपेक्षा गरिएको छ। बैठकले बिपद सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, वडामा गठन गरिएका विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने तथा आकस्मिक अवस्थामा छिटो प्रतिकार्य गर्न सक्ने संयन्त्र मजबुत बनाउने निर्णय गरेको छ।