- चैत्र १९, २०८२
- No Comment
- 5
सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना बिचौलिया पक्राउ
सुर्खेत, १९ चैत । सुर्खेतकाे वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने तथा काम गरिदिने बहानामा रकम असुल्ने १६ जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान ११:३० बजेको समयमा ती कार्यालयहरूमा पुगेका सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण, जग्गा नामसारी तथा भू-सेवाका विभिन्न कार्यहरू सहज बनाइदिने भन्दै अवैध रूपमा रकम लिने गरेको र सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याएको सूचनाका आधारमा प्रहरीले कारबाही चलाएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी सहायक निरीक्षक किशोर खत्रीको कमान्डमा खटिएको विशेष टोलीले मालपोत कार्यालयबाट ६ जना पुरुष र यातायात व्यवस्था कार्यालयबाट १० जना महिला गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको हो। मालपोत कार्यालयबाट पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–१ प्रगतिशील टोलका ३६ वर्षीय दीपक बहादुर बि.क., वडा नं. ३ का ६२ वर्षीय इन्द्र बहादुर शाही, वडा नं. १२ का ३३ वर्षीय प्रदिप खड्का, लेकवेशी नगरपालिका–३ का ३७ वर्षीय रमेश दमाई, वीरेन्द्रनगर–५ का २८ वर्षीय हरिप्रसाद देवकोटा र वडा नं. १० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम रहेका छन्।
त्यसैगरी, यातायात व्यवस्था कार्यालय सुर्खेतको हाताबाट पक्राउ पर्ने महिलाहरूमा वीरेन्द्रनगर–११ की ३२ वर्षीया रोशमी तिवारी, वडा नं. ३ की २५ वर्षीया लक्ष्मी शाही, वडा नं. १२ की ३८ वर्षीया कुसुम बुढा क्षेत्री, वडा नं. ३ की ३४ वर्षीया पार्वती योगी, वडा नं. ५ की ३५ वर्षीया पवित्रा न्यौपाने, वडा नं. ११ की ३१ वर्षीया दुर्गा शाही, वडा नं. ६ की २३ वर्षीया सम्झना योगी, वडा नं. ११ की १८ वर्षीया रोशनी शाही, वडा नं. ६ की ३८ वर्षीया निर्मला योगी र वडा नं. ११ की २० वर्षीया गीता सुनार रहेका छन्।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। सरकारी कार्यालयहरूमा बिचौलियाको हस्तक्षेपका कारण सर्वसाधारणले झन्झट बेहोर्नु परेको गुनासो बढेपछि प्रहरीले आफ्नो निगरानी र सक्रियता बढाएको हो।