प्रदेश खारेज गर्ने प्रस्ताव ल्याए रास्वपालाई राप्रपाले दुईतिहाइ पुर्याइदिने
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश संरचना खारेज गर्ने प्रस्ताव आएमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दुईतिहाइ मत पुर्याउन सहयोग गर्ने जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा राप्रपाका तर्फबाट बोल्दै सांसद ज्ञानबहादुर शाहीले प्रदेश संरचना अनावश्यक भएको दाबी गर्दै खारेजीका पक्षमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका हुन्।
उनले प्रदेश व्यवस्था दलका कार्यकर्तालाई व्यवस्थापन गर्नका लागि ल्याइएको आरोप लगाउँदै यसले राज्यको ठूलो आर्थिक भार बढाएको बताए। “देशमा ८८४ जना सांसद छन् र प्रदेश सञ्चालनमा वार्षिक करिब एक खर्ब रुपैयाँ खर्च भइरहेको छ,” उनले भने।
शाहीका अनुसार प्रदेश खारेज गर्न आवश्यक बहुमतका लागि १८४ मत चाहिन्छ र राप्रपाका ५ सांसदले सो संख्या पुर्याउन सहयोग गर्ने बताएका छन्। “यदि सरकारले प्रदेश खारेजको प्रस्ताव अगाडि ल्याउँछ भने राप्रपाले आवश्यक मत पुर्याएर दुईतिहाइ सुनिश्चित गर्नेछ,” उनले बताए।
उनले सरकारलाई प्रदेश खारेजको प्रक्रिया तत्काल अगाडि बढाउन आग्रह समेत गरेका छन्।