- चैत्र १३, २०८२
- No Comment
- 20
चौकुने गाउँपालिकाकाे चिनरास मालिका डाँडामा वायु ऊर्जा अध्ययनका लागि मेट्रोलोजी स्टेशन स्थापना
सुर्खेत। चौकुने गाउँपालिका वडा नम्बर १ स्थित चिनरासको मालिका डाँडा क्षेत्रमा वायु ऊर्जा अध्ययनका लागि मेट्रोलोजी स्टेशन स्थापना गरिएको छ। समुद्री सतहबाट करिब १६४२ मिटर उचाइमा रहेको उक्त स्थानमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अन्तर्गत वायु ऊर्जा तथ्यांक संकलन केन्द्र, खुमलटार ललितपुरको प्राविधिक टोलीले स्टेशन जडान गरेको हो।
उक्त स्टेशन वरिष्ठ प्राविधिक अधिकृत डा. ईश्वर बज्राचार्य तथा प्राविधिक अधिकृत दिनवन्धु पराजुली को नेतृत्वमा स्थापना गरिएको वडानम्बर १ का वडा अध्यक्ष जिरक बडुवालले जानकारी दिनुभएको छ। मेट्रोलोजी स्टेशनमार्फत अब सो क्षेत्रमा हावाको गति र दिशा, तापक्रम, वर्षा, सौर्य विकिरण (सोलार रेडियसन) तथा आर्द्रता (ह्युमिडिटी) सम्बन्धी तथ्यांक संकलन गरिनेछ। संकलित सम्पूर्ण तथ्यांक खुमलटारस्थित केन्द्रमा पठाइनेछ भने स्थानीय स्तरमै पनि अवलोकन गर्न सकिने व्यवस्था रहनेछ।
करिब दुई वर्षसम्म निरन्तर रूपमा तथ्यांक संकलन गरी विश्लेषण गरिनेछ। प्राप्त नतिजा सकारात्मक देखिएमा उक्त क्षेत्रमा वायु ऊर्जा उत्पादन गरी बिजुली निकाल्ने सम्भावना रहेको सम्बन्धित प्राविधिकहरूले जनाएका छन्। स्थानीय स्तरमा वैकल्पिक ऊर्जा विकासका लागि यो पहल महत्वपूर्ण मानिएको छ। यसले भविष्यमा चौकुने क्षेत्रमा स्वच्छ र दिगो ऊर्जा उत्पादनको ढोका खोल्ने अपेक्षा गरिएको छ।