- फाल्गुन २८, २०८२
- No Comment
- 19
इरानले विश्वकप नखेल्ने घोषणा
काठमाडौँ – इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को फिफा विश्वकप फुटबलमा सहभागिता नजनाउने बताएका छन्।
मन्त्री डोन्यामालीका अनुसार प्रतियोगिताको सह–आयोजक अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई आक्रमण गरेपछि इरानले विश्वकपमा भाग लिन नसक्ने अवस्था सिर्जना भएको हो। आफ्ना खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै विश्वकपमा सहभागिता जनाउन नसकिने उनले बताएका छन्।
उनको उक्त भनाइबारे इरानी फुटबल सङ्घ तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
४८ टोली सहभागी हुने सन् २०२६ को विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने तालिका रहेको छ। प्रतियोगितामा इरान समूह ‘जी’ मा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग रहेको छ।
यसैबीच अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको खबर सार्वजनिक भएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप बढेको बताइएको छ।