एजेन्सी । जाडो मौसममा स्वास्थ्यका लागि हरियो सागसब्जी अत्यन्त उपयोगी मानिन्छ। आहारविद्हरूका अनुसार यस समयमा सागसब्जी खानाले शरीरलाई आवश्यक पोषक तत्व प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।
हरियो सागमध्ये पालकलाई विशेषगरी “सुपरफुड”को रूपमा चिनिन्छ। यसमा क्यालोरी कम हुने तर पोषण तत्व प्रशस्त मात्रामा पाइने भएकाले नियमित सेवनले स्वास्थ्यमा धेरै फाइदा पुग्ने बताइन्छ।
पालकमा क्याल्सियम, म्याग्नेसियम, आइरन, भिटामिन ए, भिटामिन सी र भिटामिन के जस्ता आवश्यक खनिज तथा भिटामिन पाइन्छन्। नियमित रूपमा आहारमा पालक समावेश गर्दा क्यान्सरको जोखिम घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, तौल घटाउन तथा शरीरमा हेमोग्लोबिनको स्तर बढाउन सहयोग पुग्ने विज्ञहरू बताउँछन्।
यसका साथै पालकको ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले मधुमेह भएका व्यक्तिका लागि पनि उपयोगी मानिन्छ।
कसलाई हानिकारक हुन सक्छ ?
यद्यपि, पालक सबैका लागि समान रूपमा फाइदाजनक भने हुँदैन। केही अवस्थाका व्यक्तिले यसको सेवन गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।
१. मिर्गौलामा पत्थरी भएका व्यक्तिहरू
पालकमा अक्सालिक एसिडको मात्रा बढी हुन्छ। यसको अत्यधिक सेवनले शरीरमा क्याल्सियम अक्सालेट जम्ने सम्भावना बढाउन सक्छ, जसले मिर्गौलामा पत्थरी बन्ने जोखिम बढाउँछ।
२. जोर्नी दुखाइ वा गाउट भएका व्यक्तिहरू
पालकमा अक्सालिक एसिडसँगै प्यूरिन नामक यौगिक पनि पाइन्छ। यी दुवैले गाउट वा गठियाको समस्या भएका व्यक्तिमा जोर्नी दुख्ने र सुन्निने समस्या बढाउन सक्छ।
३. रगत पातलो गर्ने औषधि सेवन गरिरहेकाहरू
पालक भिटामिन के को राम्रो स्रोत हो। यो तत्वले रगत जम्ने प्रक्रियामा प्रभाव पार्ने भएकाले रगत पातलो गर्ने औषधि सेवन गरिरहेकाहरूले पालकको सेवन गर्दा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।
विशेषज्ञहरूका अनुसार पालक अत्यन्त पोषिलो भए पनि सन्तुलित मात्रामा सेवन गर्नु नै स्वास्थ्यका लागि उत्तम हुन्छ।