- माघ २९, २०८२
- No Comment
- 47
किन हुन्छ हृदयघात? लक्षण र रोकथाम के हो?
काठमाडौं । विश्वभर मृत्युका प्रमुख कारणमध्ये मुटुरोग अग्रस्थानमा रहेको चिकित्सकहरू बताउँछन्। पुरुष तथा महिला दुवैमा समान रूपमा देखिने यो रोग जीवनशैली, खानपान, धूम्रपान, मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल जस्ता कारणले बढ्दै गएको छ। विशेषज्ञहरूका अनुसार समयमै सचेत भए हृदयघातबाट बच्न सकिन्छ।
हृदयघात किन हुन्छ?
हृदयाघात (हार्ट अट्याक) तब हुन्छ जब मुटुमा रगत पुर्याउने धमनीहरूमा बोसो, कोलेस्टेरोल वा रगतको थक्का जमेर रक्तप्रवाह अवरुद्ध हुन्छ। यसले मुटुको मांसपेशीमा अक्सिजनको आपूर्ति रोकिन्छ र कोषिका क्षति वा मृत्यु हुन सक्छ। समयमै उपचार नपाए अचानक मृत्युको जोखिमसमेत रहन्छ।
प्रमुख लक्षणहरू
हृदयघातका सामान्य लक्षणहरूमा:
-
छाती दुख्ने वा गह्रौँ महसुस हुने
-
दुखाइ बङ्गारा, घाँटी, काँध, पाखुरा वा पिठ्युँतिर सर्ने
-
स्वास फेर्न गाह्रो हुने
-
अत्यधिक पसिना आउने
-
वाकवाकी लाग्ने वा बान्ता हुने
-
कमजोरी, रिङ्गटा लाग्ने वा बेचैनी हुने
चिकित्सकहरूका अनुसार केही अवस्थामा “सुशुप्त हृदयघात” पनि हुन सक्छ, जसमा स्पष्ट लक्षण नदेखिन सक्छ।
हृदयाघातको प्रकृति र गम्भीरताअनुसार उपचार गरिन्छ।
-
थ्रोम्बोलाइसिस: रगतको थक्का पगाल्ने औषधि प्रयोग।
-
एन्जियोप्लास्टी: बन्द धमनी खोल्न क्याथेटर र बेलुन प्रयोग गरी स्टेन्ट जडान गर्ने प्रक्रिया।
-
बाइपास सर्जरी: धेरै धमनी बन्द भएका जटिल अवस्थामा शल्यक्रिया।
विशेषज्ञहरूका अनुसार एन्जियोप्लास्टी हाल सबैभन्दा प्रचलित र प्रभावकारी विधि हो। यो प्रक्रिया प्रायः २०–४५ मिनेटमा सम्पन्न हुन्छ र धेरैजसो बिरामी चाँडै घर फर्कन सक्छन्। हाल औषधिरहित, औषधि लेपन गरिएको र शरीरमै विलय हुने स्टेन्ट उपलब्ध छन्।
कहिलेकाहीँ एन्जियोप्लास्टीपछि पनि धमनी पुनः साँघुरिने सम्भावना रहन्छ। त्यसैले नियमित जाँच र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन अनिवार्य हुन्छ। एस्पिरिन र क्लोपिडोग्रेलजस्ता औषधि चिकित्सकको अनुमति बिना बन्द गर्नु हुँदैन।
कसरी गर्ने रोकथाम?
विशेषज्ञहरू जीवनशैली सुधारलाई नै हृदयाघात रोकथामको मुख्य उपाय मान्छन्।
-
धूम्रपान त्याग्ने
-
रक्तचाप, मधुमेह र कोलेस्टेरोल नियन्त्रणमा राख्ने
-
चिल्लो, बोसोयुक्त र प्रशोधित खाना कम गर्ने
-
ताजा सागसब्जी र फलफूल बढी खाने
-
नियमित व्यायाम गर्ने (दैनिक कम्तीमा ३० मिनेट हिँड्ने)
-
तौल सन्तुलित राख्ने
भवन चढ्दा भर्याङ प्रयोग गर्ने, छोटो दूरी पैदल हिँड्ने जस्ता साना बानीहरूले पनि मुटु स्वस्थ राख्न मद्दत पुर्याउने चिकित्सकहरू बताउँछन्।
आकस्मिक अवस्थामा के गर्ने?
यदि कसैलाई ३० मिनेटभन्दा बढी समयसम्म छाती दुख्ने, स्वास फेर्न गाह्रो हुने वा माथि उल्लेखित लक्षण देखिएमा तुरुन्तै नजिकको हृदयरोग उपचार केन्द्रमा लैजानुपर्छ। चिकित्सकहरूको सुझावअनुसार शंका लागेमा ३०० मि.ग्रा. एस्पिरिन चपाएर खुवाउन सकिन्छ, जसले प्रारम्भिक क्षति कम गर्न सहयोग पुर्याउन सक्छ।
स्वास्थ्यकर्मीहरू भन्छन्—“समयमै पहिचान र उपचार नै हृदयाघातबाट ज्यान जोगाउने सबैभन्दा प्रभावकारी उपाय हो।”